राष्ट्रिय करातेको तयारी पूरा

karate1

गणेशमान सिंह शान्तिप्रतिष्ठान, नेपाल र राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासंघको संयुक्त आयोजनामा हुने ४४ औं राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक प्रतिष्ठानका अध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक रामकृष्ण चित्रकारले शनिबार आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । तीनदिने प्रतियोगिता सोमबारदेखि ललितपुरको चापागाउँमा सुरु हुँदैछ ।
नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताब्दीको उपलक्ष्यमा हुने प्रतियोगितामा पाँचविकास क्षेत्र, राष्ट्रिय टिम, नेपाली सेना, नेपाल प्रहरी, एपीएफ र विश्वविद्यालय गरी जम्म १० टिमको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप) कापूर्व कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले जानकारी दिए ।
महर्जनका अनुसार १० टिमबाट २ सय २० खेलाडीले पुरुषमा ९ र महिलामा ८ गरीकुल १७ स्वर्णकालागि भिडन्त हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनि र ८४ केजी माथि तथा महिलामा ४५, ५०, ५५, ६१, ६८ केजी मुनि र र ६८ केजी माथि तौल समूह समावेश छन् । पुरुष÷महिलाको एकल र टिम कातामा पनि खेल हुनेछ ।
प्रतियोगिताको राखेप संरक्षक एवं प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रमलाई भब्य र अविस्मरणिय बनाउने तयारी गरिरहेको आयोजकले त्यस अवसरमा हेलिकप्टरबाट पुष्प वृष्टि गर्ने जनाएको छ ।
सोही प्रतियोगिताकालागि मध्यमाञ्चलको खेलाडी छनोट पनि शनिबारै सम्पन्न भएको छ । मध्यमाञ्चलबाट कुमुते÷कातामा ११ पुरुष र १० महिला गरी जम्मा २१ खेलाडी छनोट भएको प्रतियोगिता संयोजक महेश रन्जितले जनाएका छन् । मध्यमाञ्चलको छनोटसंगै प्रतियोगितामा सहभागी हुने सबै टिमको छनोट सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Comment