सुमन भोम्जन स्मृति चेसको उपाधि रुपेश र मदनलाई

chistij and rupesh

खेल पत्रकार स्वर्गीय सुमन भोम्जनको स्मृतिमा ललितपुरमा सम्पन्न चेस प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जयसवाल र क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थले हात पारेका छन् । ७ चरणमा सम्पन्न भएको रेपिडतर्फको खेलमा शतप्रतिशत नतिजा आत्मसात गर्दै नेपालका शिर्ष वरियताका खेलाडी रुपेश जयसवाल प्रथम भएका हुन् । गतसाता सिंगापुरमा सम्पन्न आशिएन चेस प्रतियोगितामा समेत रेपिडतर्फ नेपाललाई ऐतिहासीक पदक दिलाएका रुपेशले उपाधि हात पार्ने क्रममा पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, दोलखाका आशिष फुँयाल, अन्नपूर्ण उच्चमाविका विजय डंगोल, थापाथली चेस पार्कका क्षितीज भण्डारी, सप्तरीका भुवनेश्वर चौधरी, गोल्डेनगेट कलेजका हिमाल लामा तथा क्यान्डिडेटमास्टर विवेक थिङमाथि विजय हात पारेका हुन् ।
त्यसैगरी ब्लिजतर्फको उपाधि हात पार्ने क्रममा मदनकृष्णले ५ खेलबाट ४ दशमलब ५ अंक हासिल गरे । मदनले रुपेश जयसवाल, कैलालीका दिर्घराज जोशी, फिडेमास्टर विलमलाल श्रेष्ठ तथा बद्रीलाल नेपालीमाथि जीत हात पारे भने क्षितीज भण्डारीसँग बराबरी खेले ।
रेपिडतर्फ विवेक थिङ, मदनकृष्ण कायस्थ, बद्रीलाल नेपाली क्षितीज भण्डारी, हिमाल लामा, आशिष फुँयाल, सुजेन्द्रप्रसाद श्रेष्ठ, सजिन महर्जन तथा सुमित पन्त दोश्रो देखि दशौं स्थानमा रहन सफल भए । त्यस्तै ब्लिजतर्फ क्षितीज भण्डारी, हिमाल लामा, रुपेश जयसवाल, बद्रीलाल नेपाली, आशिष फुँयाल, पुरुषोतम चौंलागाईं, जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ तथा विवेक थिङ दोश्रो देखि दशौं स्थानमा रहे ।

Comment