सफ्ट टेनिसमा नेपालको जित

asiad cyc

इन्छन एसियाडमा आज सफ्ट टेनिस पुरुषतर्फको समूह चरणको खेलमा नेपाली खेलाडी मनोज सुब्बाले ताजखस्तानका खेलाडी नेग्माटुलियो राजाबलिभमाथि ४–० को जित हात पारेका छन् । बेस्ट अफ सेभेनको खेलमा मनोजले ४–०, ४–२, ५–३ र ४–२ को जित निकाले । यस्तै आजै भएको अर्को खेलमा मनोज जापानसंग ४–० ले पराजित हुन पुगेका छन् । हिजो सम्पन्न खेलमा उनले कम्बोडियालाई ४–३ ले हराएका थिए भने दक्षिण कोरिया र चाइनिज ताइपेईसंग समान ४–० को हार ब्यहोरेका थिए । यस्तै पुरुषतर्फकै समूह सीको खेलमा कमलबहादुर भण्डारी चीन र फिलिपिन्ससंग समान ४–० ले पराजित भएका छन् ।
महिला तर्फको खेलमा भने आज सम्पन्न दुवै खेलमा नेपाल पराजित भएको छ । एलिना रञ्जित फिलिपिन्ससंग ४–० ले र निरु कायस्थ भियतनामसंग ४–२ ले पराजित भएकी छिन् । निरुले बेष्ट अफ सेभेनको खेलमा ०–४, ५–३, ४–२, १–४, २–४ र १–४ स्कोर गरेकी थिइन् ।
टेबल टेनिसका दुवै खेलमा हार
यता, सुवान जिम्नेजियममा भएको टेवल टेनिस प्रतियोगितामा नेपालले आज खेलेका दुवै खेलमा हार ब्यहोरेको छ । क्यानडामा सम्पन्न कमन वेल्थका च्याम्पियन भारतीय खेलाडी कमल सारथ आसन्त र अमरलाल एन्थोनीसंग नेपाली खेलाडीहरु अमरलाल मल्ल र पुरुषोत्तम बज्राचार्यले शाहसिक प्रदर्शन गरे । अमरलाल र पुरुषोत्तम ११÷६, ५÷११, ८÷११ र १०÷१२ ले पराजित भए ।
यसैगरि अजय सुवाल र शिवसुन्दर गोथेको जोडी चिनिया खेलाडी झिन झु र जेन्दोङ फानसंग ११—३, ११—३, ११—३ ले पराजित भए ।
साईक्लिङमा पनि हार
आजै सम्पन्न साईक्लिङ तर्फ पुरुषको क्रस क्रन्ट्री प्रतियोगितामा नेपाली खेलाडी नारायण गोपाल महर्जन निर्धारित समयमा दूरी पुरा गर्न नसकी २ ल्याप पछाडी पर्दै १६ औं स्थानमा आए भने अर्का खेलाडी अजय पण्डित क्षेत्री ४ ल्याप पछाडी पर्दै २०औं स्थानमा आए ।
तेक्वान्दोमा खराव सुरुवात
पदकको आशा गरेको तेक्वान्दो खेलमा नेपालले खराब सुरुवात गरेकोछ । तेक्वान्दो अन्र्तगत पुरुषको ७४ केजी तौल समूहमा नेपालले लेवनानलाई वाकओभर दिएको छ । नेपाली खेलाडी सक्षम कार्की प्रशिक्षणका दौरान घायल भएका कारण उनले प्रतियोगितामा सहभागिता जनाउन पाएनन् ।
यस्तै महिला तर्फको ४९ केजी तौल समूहमा नेपाली खेलाडी यान कुमारी चौलागाई मलेसियाकी खेलाडी नुर धिया लियाना विन्ति साहारुद्धिन संग ७—२ ले पराजित भईन् । यस्तै अर्को महिलाकै ५३ केजी तौल समूहममा निमा गुरुङ्ग चाइनिज ताईपेईकी युन वेयन हुआङ्घ संग १२—० ले पछाडी परिन् ।
सभासदको टोली कोरियामा

कोरियको इन्छनमा जारी १७ औं एशियाली खेलकुद प्रतियोगितामो अनुगमन गर्न संविधान सभाका पाँच महिला सभासद र संसदिय समितीका एक अधिकृत सहित ६ जनाको टोली कोरिया आईपुगेको छ ।
कोरिया आईपुग्ने टोलीमा संविधान सभा महिला बालबालिका तथा जेष्ठ नागरिक समिति अन्र्तरगत युवा तथा खेलकुद उपसमितिका सदस्यहरु सारदा पौडेल र सुजाता परियार नेपाली काँग्रेस, जयन्तीदेवी राई र रिता रावल एमाले, निशा साह नेकपा माओवादी तथा अधिकृत केशव अर्याल रहेकाछन् ।
कोरिया वसाईका क्रममा टोलीले १७औं एशियाली खेलकुदका क्रममा नेपाली खेलाडीहरुको बसाई, खानपान र प्रदर्शनका वारेमा अनुगमन गर्ने कार्यक्रम रहेकोछ । सो क्रममा सभासदहरुले कुनै समयमा आफुहरु पनि कुनै न कुनै खेलको खेलाडी भएको तथा खेल संग निकट रहेको भन्दै खेलकुदको मोहका कारण नै हिन्दूहरुको पवित्र चाड दशैंमा कोरिया भ्रमणमा आएको वताए । उनीहरुले खेलाडीहरुलाई पदक जित्नका लागि शुभकामना समेत प्रदान गरे ।
टोली प्रतियोगिताको समाप्ती पश्चात स्वदेश फर्कने कार्यक्रम रहेकोछ ।

Comment