अनुप र पञ्चमाया पहिलो

प्रथम इमान गुरुङ स्मृति रक क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा अनुप गुरुङ र महिलामा पञ्चमाया तामाङ शनिबार पहिलो भएका छन् । पुरुष र महिला दुवैमा २५ मिटर दूरीको उचाईमा प्रतिस्पर्धा भएको थियो ।

तनहुँको चुनढुंगास्थित विमलनगरमा भएको प्रतियोगितामा अनुपले निर्धारित दूरी १ मिनेट १६.६० सेकेन्डमा पूरा गरे । १ मिनेट १५.२५ सेकेन्डमा राजनप्रसाद दुलाल दोश्रो तथा १ मिनेट २१.३८ सेकेन्डमा निमा टासी शेर्पा तेश्रो भए । राजनले अनुप भन्दा कम समय लगाए पनि ‘फाउल’ गरेका कारण राजन दोश्रोमा सीमित भएका हुन् ।

जम्मा ३१ जनाले सहभागिता जनाएको पुरुषतर्फ २१ प्रतिस्पर्धी छनोट चरणबाटै बाहिरिएका थिए । १० जना सेमिफाइनलमा पुगे भने उपाधिका लागि ५ जना भिडेका थिए ।

पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको महिलामा पहिलो बनेकी पञ्चमायाले १ मिनेट ३४.९४ सेकेन्ड समय खर्चिन् । सम्झना विशंखे (२ मिनेट ४४.६६ सेकेन्ड) दोश्रो तथा फुर्वा शेर्पा (४ मिनेट १९.७४ सेकेन्ड) तेश्रोमा रहे । सहभागी १३ मध्ये ८ जना छनोट चरणमै रोकिए । बाँकी ५ प्रतिस्पर्धी सीधै फाइनल प्रतिस्पर्धामा उत्रेका थिए ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी मध्ये राजन नेपाल आर्मीका हुन् भने बाँकी सबै काठमाडौंका हुन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः माउन्टेन फ्लाइट, काठमाडौं–पोखराको राउन्ड टिकट र काठमाडौं–सौरहामा २ रात र ३ दिनको बसाइ प्याकेज पुरस्कार स्वरुप प्राप्त गरे ।

३५ औं विश्व पर्यटन दिवसका अवसरमा आयोजित प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालगायतले पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको सभासद विनोद श्रेष्ठले उद्घाटन गरेका थिए

Comment