अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

विभिन्न पाँच अन्तर्राट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई नेपाल वादोरियो कराते डो संघले सम्मान गरेको छ ।
मलेसियामा भएको १० औं अन्तर्राष्ट्रिय खुला च्याम्पियनसिपका स्वर्ण विजेता सिमोन खत्री सम्मानित भए ।
श्रीलंकामा भएको प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सिमानेसहित तेजबहादुर तामाङ, अजयभक्त श्रेष्ठ, कैलाश बस्नेत, आकाश तामाङ, सन्दिप लामा र रोएकता सिंहले स्वर्ण जितेका थिए । केशर सुब्बा र सुक्रबहादुर राईले रजत हात पारेका थिए । अजयले थप एक रजत पनि प्राप्त गरेका थिए ।
भारतको गुजरातमा भएको तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा कैलाश बस्नेत र मनीष तामाङले दोहोरो स्वर्ण चुमेका थिए । सन्तोष माझीले १ स्वर्ण, अजयभक्त श्रेष्ठ, तेजबहादुर तामाङ र लक्ष्मण तामाङले १ स्वर्ण र १ रजत, जीवन पुलामीले १ स्वर्ण तथा मानबहादुर तामाङ र केशर सुब्बाले २–२ रजत जितेका थिए ।
त्यसैगरी, फिलिपिन्समा भएको फिलिपिन्स खुला करातेमा चित्रप्रसाद श्रेष्ठ र सन्जिव लामाले कांस्य जितेका थिए ।
भारतको गुजरातमै भएको पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप सिमोनले २ स्वर्ण जितेका थिए । अरुणकुमार कार्की, अन्जान केसी, सुवास स्याङतान, कविता खड्का, लाक्पा दोर्जे शेर्पा, सुशीला महर्जन र जोगमेर लामाले १–१ स्वर्ण, निमा तामाङ र विकबहादुर थामीले १ स्वर्ण र १ रजत, विष्णुलाल श्रेष्ठले १ रजत, कृष्णबहादुर तामाङले १ रजत र १ कांस्य तथा श्यामबहादुर वाइबा तामाङले १ कांस्य जितेका थिए ।
सोही पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियलको भूमिका निर्वाह गरेका वादोरियोका प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, यादवलाल श्रेष्ठ र मनोज केसी तथा निर्णायक सुकदेव राजवंशी पनि सम्मानित भए ।
सामाखुशीस्थित मेगा पार्टी भेन्युमा आायोजित एक कार्यत्रमबीच उनीहरुलाई एनेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राज्यको तर्फबाट खेल र खेलाडीलाई जेजति सुविधा दिनु पर्ने हो त्यो कम भएको बताउदै सदन, पार्टी र विभिन्न पार्टीका नेतासंग त्यस विषयमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले अन्य मुलुकमा झै अनिवार्य खेलकुदको नीति लागू नभएसम्म खेलकुदले अपेक्षित विकास गर्न नसक्ने विचार राखे ।
प्रमुख प्रशिक्षक हरिशरण केसीले खेलाडी कुनै पार्टी विशेषको नभइ राष्ट्रको गहना भएको धारणा राखे ।

Comment