क्षितिजलाई चेस उपाधि

 नेपाल बुद्धिचाल सङ्घका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औँ दिनको पुण्य स्मृतिमा आयोजित खुल्ला रेपिड रेटिङ्ग चेस टुर्नामेन्टको उपाधि माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका क्षितिज भण्डारीले जितेका छन् । स्विस लिग ९ चरणका खेलमा क्षितिजले ६ जीत र ३ बराबरी खेलेर साढे सात अङ्क हासिल गरेका थिए । उपाधिसँगै उनले नगद १५ हजार हात पारे । यसै गरी समान ७ अङ्क भए पनि बुकहोल्ज टाई ब्रेकमा एसियन कलेज गोंगबुँका युवा खेलाडी मिलन लामा दोस्रा र थापाथली चेस पार्कका सुशील चौधरी तेस्रा भए । उनीहरूले क्रमशः नगद १० हजार र ७ हजार प्राप्त गरे ।
लुँखुसी ललितपुरस्थित श्रम जीत किशोर माविमा सञ्चालित प्रतियोगितामा, ललितपुरका सजिन महर्जन पाँचौँ, रौतहटका फिडे मास्टर रुपेश जैशवाल छैटौँ, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा सातौँ, बद्रीलाल नेपाली आठौँ, नवीन तण्डुकार नवौँ र झापाका प्रकाशचन्द्र नेपाल दसौँ भई नगद पुरस्कार जित्न सफल रहे ।
ललितपुर स्पोर्टस क्लबद्वारा आयोजित दुई दिने प्रतियोगिता कपनका सुदिप तामाङ, फुटुङ्गका रामकुमार कार्की, दोलखाका आशिष् फूँ याल, काठमाडौँका जनार्दन श्रेष्ठ र माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका सुश्रुत दाहाल उत्कृष्ट १५औँ भए । उनीहरूले जनही नगद २ हजार प्राप्त गरे ।
दुई दिने प्रतियोगितामा भेट्रानमा भक्तपुरका गणेशमान दुवाल, अनरेटेडमा वसुन्धराका विनय राई, १७००मुनी रेटिङ्ग समूहमा माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका कृष्ण खत्री, स्थानीयमा रत्न व्यञ्जनकार उत्कृष्ट ठहरिए । उनीहरूले जनही नगद २ हजार पुरस्कार पाए । त्यसै गरी महिलातर्फ डब्लुएफएम सुजना लोहनी प्रथम, मिसन चेस क्लब टोखाकी पूर्णिमा गुरुङ दोस्रा र सन्तोषी विक तेस्रा भइन् भने १६ बर्समुनि उमेर समूहमा मिसन चेस क्लबका कुशल बेलबासे प्रथम, लाजिम्पाटका पुरुषोत्तम सिलवाल दोस्रा र मिसन क्लबकै आलोक चौधरी तेस्रा भए ।
यस टुर्नामेन्टमा १२ जिल्लाबाट ६७ जना खेलाडीहरू सहभागी थिए । जसमा उत्कृष्ट २५ जनाको लागि कुल ८५ हजार नगद पुरस्कार थियो । विजयी तथा सहभागीहरूलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, फिडे इथिक्स कमिटी सदस्य राजेशहरि जोशी, स्व. नारायणकृष्ण जोशीका सुपुत्र डा. सरोजकृष्ण जोशीलगायतले ट्रफि, नगद तथा प्रमाण पत्र प्रदान गरे ।
Comment