हाप्कीडो पदक विजेता सम्मानित

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठलाई बधाई तथा प्रथम राष्ट्रिय भर्चुअल सेल्-डिफेन्स च्याम्पियनसिप २०७७ मा पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । नुवाकोट जिल्ला मार्सल आर्ट्स सङ्घले आयोजना गरेको च्याम्पियनसिपमा कास्कीबाट सहभागी कृतिका गिरी र अञ्जना परियारले कास्य पदक जितेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बाका राजनीतिक सल्लाहकार गोविन्द बहादुर नेपाली, हाप्किडो सङ्घ गण्डकी प्रदेश उपाध्यक्ष तारा माया थापा मगर, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कास्की अध्यक्ष दीपकबहादुर गोदारले राखेप सदस्य श्रेष्ठ र खेलाडी गिरी र परियारलाई सम्मान गरे ।
सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका सल्लाहकार नेपालीले खेलाडीले खेलेरै बाच्न सक्ने अवस्था सृजना गर्नुपर्ने बताए । नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठले २२ वर्ष खेलाडीका रूपमा खेल्दै अहिले यो स्थान सम्म आएको स्मरण गदै खेलकुद क्षेत्रको विकास खेलाडीको पक्षमा काम गर्ने बताए । हाप्किडो सङ्घका गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगरले नेपालमा मार्सल आर्ट्स खेलको सम्पूर्ण विधालाई सरकारले विभेद गरेको बताइन् ।


हाप्किडो खेलको सङ्गठन सातै प्रदेश को ५० जिल्लामा समिति गठन भएको र जिल्लाहरूमा हजारौँ खेलाडीहरूले नियमित प्रशिक्षण गरिरहेको बताइन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले खेलकुदमा गफ भन्दा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउँदै खेल पदाधिकारीले खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्ने बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कास्की अध्यक्ष दीपकबहादुर गोदारले खेलाडीहरूलाई चाहिने पूर्वाधार र प्रशिक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।कार्यक्रम कास्की जिल्ला हाप्किडो सङ्घका अध्यक्ष मदन जिसीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव रविन गुरुङले गरेका थिए ।

Comment