फ्लोरिडा ओपन तेक्वान्दोमा राजुलाई स्वर्ण


नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ ।
ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तथा समान १÷१ रजत र कांस्य पदक जितेका हुन् । नेपालका लागि राजु नगरकोटीले स्वर्ण, सञ्जीव नेपालले रजत र सन्दीपा अमगाईंले कांस्य पदक दिलाएका थिए । राजुले ५० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जित्न सफल भए । उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरे । राजुले कुल ५.७६७ अङ्क प्राप्त गर्दा पाब्लोले ५.४६७ अङ्क बटुलेका थिए । ४० वर्षमुनि उमेर समूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए । उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । गिलबर्टले ६.६६० अङ्क र सञ्जीवले ५.८३३ अङ्क पाएका थिए ।
त्यसै गरी महिला ३० वर्षमुनि उमेर समूहमा नेपालकै सन्दीपा अमगाईंले ५.९६७ अङ्क प्राप्त गर्दै कांस्य पदक जितिन् । सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अङ्क र फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अङ्क प्राप्त गर्दै क्रमशः शीर्ष दुईमा रहे । च्याम्पियनसिपमा अस्ट्रेलिया, क्यानडा, अमेरिकी, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क र स्लोभानिया लगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । उक्त च्याम्पियनसिपमा क्याडेट, जुनियर तथा सिनियरतर्फ प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा आयोजक अमेरिकी पहिलो, फिलिपिन्स र सिंगापुर तेस्रो भयो ।

Comment