“ हामी खेलाडीहरू हाम्रो क्षेत्रको नेतृत्व आफै गर्न पनि सक्षम छौ, “ श्रेष्ठ

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा दाबी गरेकी राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठले खेलाडी जीवनमा भोगेको अनुभव र आफूले पाएको खेलकुद शिक्षाको आधारमा नेतृत्व तहमा रहेर पनि सफलता पूर्वक काम गर्न सक्ने विश्वास रहेको बताएकी छिन् । तहगत रूपमा एउटा व्यवस्थित योजना सहित कार्यपत्र पेस गरेकी अन्जुले प्रशिक्षण शैली, प्रशिक्षकको दक्षतामा विकास, खेलाडी र प्रशिक्षक सहित खेल कर्मीको जीवन यापनका विषयलाई जोड दिएकी छिन् । यसै गरी, उनले नेपाली खेलकुदको दायरालाई अन्तर्राष्ट्रिय स्तरमा फराकिलो बनाउने सोचमा रहेकी छिन् । बाल्यकाल खेलमय वातावरण, युवा अवस्था खेलाडी र अहिले प्रशिक्षकको रूपमा रहेकी अन्जु ती हरेक समयका पाएको ज्ञान र शिक्षा खेलकुदका लागि उपयोगी साबित हुने कुरामा विश्वस्त रहेकी छिन् । थुप्रै खेलाडीले आफूलाई कमजोर र अन्यलाई उपयुक्त ठाने पनि अन्जुको धारणा फरक रहेको छ । “जीवनभर अथक मिहेनत गरेर उत्कृष्ट साबित भए पछि हामी राष्ट्रिय टोलीमा पर्छौ टोलीमा परे पछि पनि आफ्नो प्रदर्शनमा मात्र केन्द्रित भएर पदक जित्छौ । हामी खेल पृष्ठभूमि भएकाहरूको आफ्नो काममा दत्त चित्त हुने आदत छ । यस कारण हामी राम्रो गर्न सक्छौ । ”उनले अगाडी भनिन् “ मेरो दाबीले हामी महिला मात्र होइन, सबै खेलाडीले हामी अव नेतृत्व गर्न पनि सक्षम छौ भन्ने आत्मविश्वास पलाएको हुन सक्छ । यस कारण मेरो दाबी सम्पूर्ण खेलाडीहरूको तर्फको दाबी पनि हो । खेलाडी व्यवस्थापनमा कमजोर हुन्छन् भन्ने दृष्टिकोण कसैको छ भने यो गलत हो भनेर पनि हामीले भन्नु पर्ने भइसकेको छ । विश्वास छ मेरो यो दावेदारीले सबै खेलाडीलाई आत्मबल प्रदान गरेका छ । “ साग खेलको पदकधारी अन्जु हाल जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षक छिन् । नेपाली भलिबलका मिथक पुरुष लक्ष्मी नारायण श्रेष्ठकी छोरी अन्जु बाल्यकाल देखि नै खेलमय वातावरणमा हुर्किएकी हुन् ।

उनले खुला आहान गरेर सबैलाई आफ्नो योग्यता सहित दाबी गर्ने अवसर प्रदान गरेकोमा युवा तथा खेलकुद मन्त्रालय धन्यवादको पात्र भएको बताएकी छिन् ।

Comment