पूर्व भलिबल कप्तान अन्जुको पनि उम्मेदवारी


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि दुई पूर्व महिला भलिबल खेलाडी अन्जु श्रेष्ठ र निलम बज्राचार्यले उम्मेदवारी दर्ता गराएका छन् । बुधवार अन्जु र निलमले सदस्य सचिव सिफारिस समिति समक्ष सदस्य सचिव पदका लागि दरखास्त दिएका हुन् ।
आठौँ र दसौँ सागमा पदक जितेकी विजेता अन्जु दसौँ सागमा नेपालले पदक जित्दा टोलीको कप्तान समेत रहेकी थिइन् । उनले वि. सं २०५३ सालमा धनगढीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै राष्ट्रिय टोलीमा प्रवेश गरेकी थिइन् । यस्तै उनले नेपालगन्ज र धनगढीमा भएको बृहत् राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलबाट सहभागिता जनाएकी थिइन् । साथै उनले सन् २००४ र २००५ मा बङ्गलादेशमा भएको विच भलिबल खेलमा नेपाललाई पदक दिलाएकी थिइन् ।
अहिले अन्जु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा सक्रिय छिन् । यस्तै उनले एफआईभीभी लेबल २ कोचिङ कोर्स पूरा गरेकी छन् । उनले व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातक गरेकी छन् । अन्जु घरबाटै भलिबल खेलमा प्रेरित भएकी व्यक्ति हुन् उनको बाबु लक्ष्मी नारायण श्रेष्ठको खेलाडी र प्रशिक्षकको रूपमा नेपाली भलिबलमा अतुलनीय योगदान रहेको छ ।
यस्तै, निलम नेपालले बि.स २०४४ पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएको नेपाली टोलीकी सदस्य हुन् ।
निलमले तेस्रो बृहद राष्ट्रिय खेलकुदमा बाग्मतीबाट खेलेकी थिइन् । निलम जावलाखेल प्रशिक्षण केन्द्रमा सल्लाहकारको रूपमा रहेकी छिन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरेकी छिन् ।

Comment