गजराज ट्रस्टद्वारा टोखा भगवती क्लबलाई खेल पोसाक प्रदान

टोखास्थित गजराज जोशी ट्रस्टले बी डिभिजन क्लब टोखा भगवती क्लबलाई खेल पोसाक प्रदान गरेको छ ।

चक्रपथस्थित हेडलाइन स्पोर्टस् क्याफे एन्ड बारमा एक कार्यक्रमबिच ट्रस्टका अध्यक्ष एवं क्लबका सल्लाहकार समाजसेवी मनिष राज जोशीले बी डिभिजन क्लबका २० खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई २ लाख ५० हजार रकम बराबरको एडिडास र लिनिङ्गका खेल पोसाक वितरण गरेका हुन् ।

गत वर्ष दोस्रो स्थान प्राप्त गरेको टोखा भगवती क्लबले यस सिजनमा १ जित र १ हार बेहोरेको छ । बुधवार आरसिसी सँग प्रतिस्पर्धा गर्न लागेको भगवती क्लबका खेलाडीहरूलाई हौसला प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा खेलाडीहरूलाई उक्त पोसाक वितरण गरिएको हो ।

खेलाडीहरूलाई उत्साहित गर्दै अध्यक्ष जोशीले खेलाडीहरूले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्नु पर्ने र क्लबले बी डिभिजन प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्न सकेमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकका लागि ठुलै प्याकेज प्रदान गर्ने बताए ।

कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष दामोदर भट्टराई बद्रीले खेलाडीहरूलाई प्रतिस्पर्धा जित्न हौसला प्रदान गर्दै प्रतिस्पर्धा जित्नु मात्र नभई खेलाडीहरूको भविष्यको पनि निर्णय हुने बताए ।

खेलाडीलाई हौसला प्रदान गर्न भएको कार्यक्रममा फुटबल विश्लेषक, एन्फाका पूर्व अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं क्लबका सल्लाहकार नवीन पाण्डेको पनि उपस्थिति रहेको थियो ।

Comment