सिभिल बैङ्क सही दिसा तर्फ उन्मुख

सिभिल बैङ्कले चौमासिक समीक्षामा यो बैङ्क सही दिसा तर्फ उन्मुख भएको देखिएको छ । बैङ्कले जारी गरेको विज्ञप्ति अनुसार गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैङ्कको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ । बैङ्कले समीक्षा अवधिसम्ममा ५२ अर्व निक्षेप सङ्कलन गरी ५० अर्व कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैङ्कले ४३ अर्व निक्षेप सङ्कलन गरी ४४ अर्व कर्जा प्रवाह गरेको थियो । दोस्रो त्रैमाससम्म बैङ्कको ग्राहक सङ्ख्या ४ लाख १२ हजार ८१९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैङ्कको ग्राहक सङ्ख्या २ लाख ६७ हजार ३५९ थियो ।

यसै गरी बैङ्कको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्व ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्व ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्व ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्व २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैङ्कले १ अर्व १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैङ्कको खुद ब्याज आम्दानी १ अर्व १० करोड रुपैयाँ रहेको थियो ।

सिभिल बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैङ्कको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैङ्कले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म ३.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा बैङ्कको आधार दर पनि ०.३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११.३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १०.९५ पुर्‍याइएको छ ।

बैङ्कले समीक्षा अवधिमा रु ३१करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैङ्कको जम्मा शाखा सङ्ख्या ७१ मात्र रहेकोमा बैङ्कको दीर्घकालीन रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भई जम्मा शाखा सङ्ख्या १०२ पुगेको छ । निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्दै छन् । द्रुत गतिमा शाखा विस्तार भएकोले गर्दा सोही बमोजिम कर्मचारी खर्च लगायत समग्र सञ्चालन खर्च बढ्न गएकोले तत्कालीन रूपमा नाफामा केही असर पर्न गएको देखिन्छ । तर यो क्षणिक असर मात्र हो । भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरू लगायत नयाँ खुल्ने शाखाहरूले बिस्तारै व्यवसाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा गरिएको छ ।

Comment