एमएमसी उपाधि होडमा पछाडि

मनाङ मर्स्याङ्दी क्लब(एमएमसी)ले यस सत्रको कतार एयरवेज सहिद स्मारक लिगमा पहिलो पराजयको सामना गरेको छ । च्यासल युथ क्लबसँग २–० को पराजय भोगे पछि उपाधिको दौडमा पछाडि परेको छ । तीन खेल बाँकी रहँदा एमएमसी शीर्ष स्थानमा रहेको नेपाल आर्मी क्लब भन्दा चार अङ्कले पछि परेको छ । आर्मी क्लबको २३ अङ्क छ भने एमएमसीको १९ अङ्क छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको २२ अङ्क छ ।
सोमबार भएको खेलमा च्यासललाई जित दिलाउने क्रममा ताइगा नाकामुरा र सन्तोष साहुखलले गोल गरे । सोही दिन भएको अर्को खेलमा प्रभु जावलाखेल युथ क्लब ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउन सफल भयो । जावलाखेलका लागि सुजित बुढाथोकीले गोल गरे । जावलाखेल १५ अङ्क सहित छैठौ स्थानमा, च्यासल १२ अङ्क सहित नवौँ स्थानमा र ब्रिगेड ब्वाइज ८ अङ्क सहित ११ औ स्थानमा छन् ।

Comment