सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस शनिवारदेखि

तेस्रो सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिवारबाट काठमाडौँमा हुने भएको छ ।
मङ्गलवार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो । अखिल नेपाल टेबल टेनिस सङ्घको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान र दक्षिण कोरिया कुल ५ सय २४ खेलाडीले सहभागिता जनाउँदै छन् । ८ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले १४ स्वर्ण, १४ रजत र २८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी दिए ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।
ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै भेट्रान एकलमा विजयी हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँबाट पुरस्कृत हुनेछन् । साथै आयोजकले प्रतियोगिताको अन्तिम दिन १३ औँ दक्षिण एसियाली खेलकुदमा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने समेत जनाएको छ । सम्झना ल्याब्रेटरीको मुख्य प्रायोजनमा प्रतियोगिता हुन हो ।

Comment