मृदुशा श्रेष्ठ स्मृति चेस सुरु

मृदुशा श्रेष्ठ स्मृति खुल्ला चेस प्रतियोगिता कीर्तिपुरको पुष्प सदन आवासीय माध्यमिक विद्यालयमा शनिवारदेखि सुरु भएको छ ।
१८०० भन्दा कम फिडे रेटिङ भएका खेलाडीका लागि सञ्चालित प्रतियोगितामा ८ जना महिलासहित १३० जना खेलाडीहरू सहभागी छन् । स्विस लिग अन्तर्गत ७ चरणमा हुने प्रतियोगितामा शनिवार ३ खेलहरू सम्पन्न भयो । जसमा मखन चेस क्लबका भेट्र«ान राजेन्द्रप्रसाद श्रेष्ठ, नमुना बौद्ध चेस क्लबका अविरल राई, चितवनका अर्जुन गौतम, त्रियोग हाइ स्कुल धापासीका कपिल घिमिरे, साँखुका कर्ण मग्राति, काभ्रेका नवीन कुमार चौधरी, स्याङ्जा युवराज पौडेल, गोल्डेनगेट कलेजका याइसास खम्बु, झापाका राजेन्द्रकुमार पराजुली, जीवन मैनाली र विजय मगर ३ अङ्कका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् ।
आयोजक विद्यालयका अनुसार खुल्लातर्फ प्रथम हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार र चौथौंले ४ हजार नगद पुरस्कार पाउनेछन् । त्यसै गरी पाँचौँदेखि उत्कृष्ट दश स्थानमा पर्ने खेलाडीले जनही १ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले ५ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार र चौथौंले १ हजार पुरस्कार हात पार्नेछन् । बाकी खेलहरू माघ १६ र १८ गते हुनेछन् ।
खुला प्रतियोगिताको दौरान अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता पनि हुने विद्यालयका संस्थापक महेश श्रेष्ठ बताउँछन् । अन्तर विद्यालय प्रतियोगिता माघको १७ र १८ गते हुदैछ ।
अन्तर विद्यालयतर्फ ३ समूहमा छात्र र छात्राहरूको अलग्गै प्रतिस्पर्धा हुनेछ । कक्षा १ देखि ४ (सब–जुनियर), कक्षा ५ देखि ७ (जुनियर) र कक्षा ८ देखि १० (सिनियर) मा खेलाडीले आ–आफ्ना विद्यालयबाट सहभागिता जनाउन सक्ने छन् ।

Comment