किन्डर ओलम्पिक सम्पन्न

साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले आयोजना गरिएको किन्डर ओलम्पिक सम्पन्न भएको छ । पौष १२ गते र माघ ८ गते गरी दुई दिन सञ्चालन भएको विभिन्न प्रतियोगितामा २८ विद्यालयका १२ सय बालबालिकाहरूले प्रतिस्पर्धा गरेका थिए ।
खेलकुदको आधार स्कुल भन्ने नाराका साथ बालबालिकाहरूलाई खेलकुदमा अभिरुचि वृद्धि गर्दै भोलिको आधार खडा गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएका छन् ।
अर्ली चाइल्ड हुड एजुकेसन टिचर्स एसोशियसनको आयोजनामा भएको ओलम्पिकमा ३ देखि ५ वर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरूले २० मिटर, २५ मिटर र ३० मिटर दुरीको दौड, रिङ दौड, बल लिएर दौड गरेका थिए । यस्तै बालबालिकाहरूले कराँते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक र जुमाको प्रदर्शन गरेका थिए ।
प्रतिस्पर्धामा सहभागी सम्पूर्ण बालबालिका तथा विद्यालयलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले ट्रफी, प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए । बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले स्वर्ण पदक प्रदान गरिएको थियो । यस्तै सहभागी सम्पूर्ण विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रमको सफलताको शुभकामना तथा बधाई दिँदै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ आजका बालबालिका अबको ६, ७ वर्ष पश्चात् राष्ट्रिय खेलाडीको रूपमा उदय हुने भएको भन्दै खेलाडी उत्पादनमा संस्थाले गरेको कार्यको प्रशंसा गरे । श्रेष्ठले ओलम्पिक सँग जोडिएको यस प्रतियोगितालाई आगामी दिनमा नेपाल ओलम्पिक कमिटीले आफ्नो कार्यक्रममा राख्ने बताए ।

Comment