छिरिङ र विमलालाई उपाधि

नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसन द्वारा आयोजित तेस्रो अन्तर कलेज स्पोर्ट क्लाइम्बिङ्ग प्रतियोगिता टप रोप विधामा काठमाडौँ स्पोर्ट क्लाइम्बिङ्ग सेन्टर ठमेलमा सम्पन्न भएको छ । काठमाडौँ उपत्यका विभिन्न ११ कलेजका २१ छात्रा, छात्रहरूले प्रतियोगितामा सहभागिता जनाए। जसमा १४ जना छात्रा र ७ जना छात्र रहेका थिए ।
स्पोर्ट क्लाइम्बिङ्ग खेलको अन्तर्राष्ट्रिय महासङ्घ इन्टरनेसनल फेडेरेसन अफ स्पोर्ट क्लाइम्बिङ्गको नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसन एक मात्र राष्ट्रिय सदस्य सङ्घ हो। स्पोर्ट क्लाइम्बिङ्ग खेललाई सन् २०२० मा हुने टोक्यो ओलम्पिक र सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा समावेश भएको अफिसियल खेल हो ।


यस प्रतियोगिताको उद्घाटन लुम्बिनी विकास बैङ्कका अध्यक्ष दशरथ रिसालले उद्घाटन गरे । पुरुषतर्फ छिरिङ शेर्पाले ४७ सेकेन्डमा १४ होल्ड पुरा गरी प्रथम, रोनक उप्रेतीले ३२सेकेन्डमा १३ होल्ड पुरा गरी दोस्रो र सुरेश तामाङले १ मिनेट २३सेकेन्डमा १३ होल्ड पुरा गरी तेस्रो भए । महिला तर्फ विमला तामाङले समय १ मिनेट २३सेकेन्डमा१२ होल्ड पुरा गर्दै बाँकी दुई होल्ड छुँदै पहिलो भइन् । देवीका पाण्डेले सोही सफलता १ मिनेट ४०.४७ सेकेन्डमा पाउँदै दोस्रो र ल्हामु शेर्पाले समय १ मिनेट ३५.५६ सेकेन्डमा १२ होल्ड पुरा गरी तेस्रो भइन् ।
उपाधिधारी खेलाडीलाई १५ हजार, उप विजयी खेलाडीलाई १० हजार तथा तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
विजयी सम्पूर्ण खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का आर्थिक विभाग प्रमुख ऋषि राम पोख्रेल र पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष गोविन्द भट्टराईले पुरस्कार प्रदान गरे ।

Comment