साग पदक विजेता बक्सर सम्मानित


एक्स बक्सर ग्रुप मकाउले १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
नेपाल बक्सिङ सङ्घले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप महासचिव पीताम्बर तिम्सिना र नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सागमा बक्सिङले ३ स्वर्ण, ६ रजत र उत्ति नै कांस्य जितेको थियो ।


स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीले समान २०–२० हजार नगद पुरस्कार पाए । रजत जितेका ललिता महर्जन, माला राई, सङ्गीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीले जनही १५ हजार नगद पुरस्कार हात पारे । कांस्यधारी सुशील थापा, तेजबहादुर देउवा, पूरण राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई जनही १० हजार नगद पुरस्कार प्रदान गरियो ।
पूर्व बक्सर सिन्धुपाल्चोक जिल्ला बक्सिङ सङ्घका अध्यक्ष मानबहादुर भण्डारीले मकाउमा रहेका पूर्व बक्सर मानबहादुर श्रेष्ठ मार्फत पुरस्कारका लागि पहल गरेका थिए । श्रेष्ठले नै मकाउमै रहेका अन्य पूर्व बक्सरलगायतसंग पुरस्कार रकम सङ्कलन गर्न समन्वयकारी भूमिका निर्वाह गरेको बताइएको छ । श्रेष्ठसहित सहयोग गर्नेमा सुवास थापा मगर, निमबहादुर रेउले, टीकाराम भण्डारी, प्रभुदास थापा मगर, तेजबहादुर चन्द, उद्धव कुँवर, श्याम गिरी, चित्रबहादुर गुरुङ, राजन डङ्गोल, पदम पन्त, घनश्याम ओली, विकास परियार, महेश रिजाल, मानबहादुर भण्डारी, अजित गुरुङ र विष्णु श्रेष्ठ रहेका छन् । अमेरिकामा बस्दै आएका ध्रुवलाल श्रेष्ठ र विजय डङ्गोलले पुरस्कार रकममा सहयोग गरेका थिए । एक्स बक्सर ग्रुप मकाउले विगत १७ वर्षदेखि खेलाडीलाई सम्मान, खेलाडीको उपचार लगायतका कार्यमा सहयोग गर्दै आइरहेको सिन्धुपाल्चोक जिल्ला बक्सिङ सङ्घका अध्यक्ष भण्डारीले जानकारी गराए ।
सोही अवसरमा नेपाल बक्सिङ सङ्घले पनि सागमा पदकविहीन खेलाडी दीपक श्रेष्ठ, प्रशिक्षक, निर्णायक र व्यवस्थापकलाई सम्मान गरेको थियो । दीपक श्रेष्ठ १० हजार तथा प्रशिक्षकहरू प्रकाश थापा मगर, एलिसेर राखिमुभ, प्रवीण तुलाधर, डम्बर दत्त भट्ट, किशोर लिम्बू, दीपक महर्जन र सुरेश मल्ललाई जनही ५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । निर्णायक पुस्कर राज पन्त, रामचन्द्र थापा मगर, धनकुमार मैनाली र ताराराम श्रेष्ठ तथा व्यवस्थापक प्रेम पौजु र प्रमीला राईलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो ।
पूर्व खेलाडी द्वय सुरेश आले मगर र मथुरादास नेवा पनि नगदसहित सम्मानित भए । सागका दौरान सहयोग गरेका करातेका राजेन्द्र कपाली र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी रत्नकाजी मालीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

Comment