सागको टेबल टेनिस पदक विजेता सम्मानित

नेपाल भेट्रान टेबल टेनिस सङ्घले दक्षिण एसियाली खेलकुद (साग) मा हाल सम्म पदक जित्ने टेबल टेनिस खेलाडीलाई शनिवार सम्मान गरेको छ । तेस्रोदेखि १३ औँ सागमा पदक जित्ने सबै टेबल टेनिस खेलाडीलाई सम्मान गरिएको हो ।
सागको १३ औँ संस्करण समाप्तिसम्म नेपालले टेबल टेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ मा भएको तेस्रो सागदेखि टेबल टेनिस पहिलो पटक समावेश गराइएको थियो । समावेश भएको संस्करणदेखि नै नेपालले टेबल टेनिसमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
सिजरिन शाह, गीता क्षेत्री, निलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । सिजरिन सागमा सबै भन्दा बढी पदक जित्ने नेपाली खेलाडी पनि हुन् । सिजरिनले स्वर्णसहित ४ रजत र ३ कांस्य जितेकी छन् । त्यसपछि बढी पदक जित्नेमा नेपाल भेट्रान टेबल टेनिस सङ्घका उपाध्यक्ष समेत रहेका धर्ममान वज्रचार्य छन् । उनले १ रजत र ४ कांस्य जितेका छन् ।
सङ्घीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेनिस सङ्घका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल भेट्रान टेबल टेनिस सङ्घकी अध्यक्ष निनु सत्याललगायतले पदक विजेतालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

Comment