भारोत्तोलनमा विकासलाई स्वर्ण

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ । पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन् । यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।

नेपाल प्रहरीका विकास थापाले स्न्याचमा १ सय २३ र क्लीन एण्ड जर्कमा १ सय ४६ सहित कुल २ सय ६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरे ।

छनोट चरणमा उनको नाममा स्न्याचमा १ सय २२ र क्लीन एण्ड जर्कमा १ सय ४२ सहित २ सय ६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले बताए । थापा १२ औं संस्करणका रजत विजेता पनि हुन् ।

८९ केजी तौल समूहमा बंगलादेशका खेलाडी मो सकायत हुसेनले रजत जिते । उनले स्न्याचमा १ सय २३ र क्लीन एण्ड जर्कमा १ सय ४५ गरी कुल २ सय ६८ केजी तौल उठाउँदै रजतमा सीमित भएका हुन् । प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी अबुर रहमान बिरामीले खेल्न सकेनन् ।

यस्तै, ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए । उनले स्न्याचमा १ सय ४२ केजी र क्लीन एण्ड जर्कमा १ सय ७६ केजी गरी ३ सय १८ केजी भार बहन गरे । भारतका अजय सिंहले स्न्याचमा १ सय ४० केजी र क्लीन एण्ड जर्कमा १ सय ७६ केजी गरी ३ सय १६ केजी भार बहन गरे । श्रीलंकन खेलाडी भिसिजि विदाङ्गेले कास्य पदक हात पारे । उनले स्न्याचमा १ सय २८ केजी र क्लीन एण्ड जर्कमा १ सय ६० केजी गरी २ सय ८८ भार बहन गरे । जितपछि विकासले देशलाई स्वर्ण दिलाउन सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

साग इतिहासमै नेपालले भारोत्तलनबाट सर्वाधिक पदक जित्न सफल भएको छ । जारी संस्करणमा पनि नेपालको पदक संस्था २ स्वर्ण सहित ६ कास्य पुगिसकेको छ ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबारकै खेलमा नेपालका तर्फबाट कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (७१ केजी) र देवी चौधरी (६४ केजी) ले कास्य जितेका छन् । बिहीबारको खेलबाट सञ्जु चौधरीले स्वर्ण सहित संगीता राई (४५केजी) र तुलाराम महतो (५५ केजी) ले कास्य जितेका थिए ।

चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ १०÷१० इभेन्ट्समा २० स्वर्णका लागि खेल हुनेछ । हालसम्म १२ वेट समूहमा खेल सम्पन्न भैसकेकोमा अब ८ वटा वेट समूहमा खेल हुन बाँकी छ ।

अधिकारी दम्पत्तिलाई कास्य

१३ औं साग भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पत्तिले कास्य पदक हात पारेका छन् । साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्णविजेता कमलले जारी संस्करणअन्तर्गत शुक्रबार पुरुष ६७ केजी तौल समूहमा कास्य जितेकोमा उनकी धर्मपत्नी राज्यलक्ष्मी थापाले पनि कास्य पदक नै जित्न सफल भइन् ।

महिला ७१ केजी तौल समूहमा राज्यलक्ष्मीले कास्य पदक जितेपछि साग भारोत्तोलनमा सम्भवतः दम्पत्तिलाई कास्य पहिलो पटक हो । १० औं संस्करणका स्वर्णविजेता कमल १३औं मा पुरुषतर्फ ६७ केजी तौल समूहमा कास्यमा सीमित भएका छन् ।

प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८३ सहित कुल १ सय ५० किलो भार उठाउँदै कास्य जितेकी हुन् । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेको छ ।

भारतकी मनप्रित कौरले स्न्याचमा ८५ र क्लीन एण्ड जर्कमा १ सय ०७ गरी कुल १ सय ९२ किलो भार बहन गरी स्वर्ण जितेकी हुन् । बंगलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लीन एण्ड जर्क विधामा ८५ गरी कुल १ सय ५५ किलो बहन गर्दै रजतमा सीमित बनिन् ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठन् सकिनन् । नेपाल प्रहरीमा आबद्ध उनले १२ औं संस्करणमा नेपाललाई कास्य दिलाएकी थिइन् । यसपालि उनले १ सय ५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८५ किलो तौल उठाइन् । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो ।

भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लीन एण्ड जर्कमा १ सय १० गरी २ सय किलो उठाउँदै शीर्ष स्थानमा रहिन् । यस्तै, श्रीलंकाकी भी। हर्षिकाले रजत जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कतर्फ एक सय गरी कुल १ सय ७० किलो भार बहन गरिन् ।

Comment