कुशल प्राविधिक नेतृत्वसँग पुर्नजागरणको अपेक्षामा तेक्वान्दो


आठौँ दक्षिण एसियाली खेलकुदकै जस्तो अवस्थामा नेपाली तेक्वान्दो छ भन्नु गफ सिवाय केही होइन भन्ने नेपाली प्रशिक्षकले राम्रो सँग बुझेका छन् । तर के साँचो हो भने विगत केही वर्ष देखि निराशाजनक परिणाम दिँदै आएको नेपाली तेक्वा न्दोको यसै साग देखि पुर्नउत्थानको युग भने सुरु हुँदै छ ।
साग खेलमा पहिलो पटक समावेश पुम्सेले नै कमल श्रेष्ठ र सिना मादेनलाई नेपाली खेलकुदका नयाँ स्टारको रूपमा उदय गराउने सम्भावना प्रबल छ । यसै खाले सम्भावना छ पार्वती गुरुङबाट पनि । पुम्सेको १३ मध्य ६ देखि ८ स्वर्ण पदक नेपालको अपेक्षा हुन सक्छ । यसमा प्रस्ट छन्, प्रशिक्षक नोर्बु लामा र हिरा थापा ।
सुरुमा भारत सहभागी नहुँदा नेपाली तेक्वान्दोले अलि धेरै स्वर्ण पदक जित्ने अनुमान गरिएको थियो । अन्तिम समयमा भारतीय टोली सहभागी हुने भएको छ । यो परिवर्तित घटनाले तेक्वान्दो कर्मीमा थप उत्साह थपेको छ । भिडन्त अझ स्तरीय भएको कारण । थापा र लामाको एउटै मत छ ,“ सबै देशको सहभागिता र उपस्थितिमा च्याम्पियन हुन सकियो भने हाम्रो साख रहन्छ । हाम्रा सामु कुनै खोट विना दक्षिण एसियाली च्याम्पियन बन्ने अवसर प्राप्त छ । ”
फेरी नेपालको प्रमुख खेल तेक्वान्दो हुने या नहुने तथा दक्षिण एसियामा नेपाली तेक्वान्दो पहिलो शक्तिको रूपमा स्थापित हुने अवसर नेपाली तेक्वान्दोका सामु छ । तेक्वान्दोका सबै विधामा उत्कृष्ट नवीन कुमार श्रेष्ठ मुख्य प्रशिक्षक भए पछि यो सबैभन्दा महत्त्वपूर्ण चुनौती हो । नेपाली तेक्वान्दोका उत्कृष्ट दुई डोजाङका प्रशिक्षकले अहिले साग टोली सम्हालेका छन् । नेपालमा पकड राखेको कोटेश्वरका नवीन मुख्य प्रशिक्षक हुँदा स्युचाटारका नोर्ब पुम्से प्रशिक्षक छन् । नवीन र नोर्बुले पाएको जिम्मेवारीले घरेलु खेलकुदमा समर्पित भएर आफ्नो काम गर्नेको पनि कतै मूल्य बाँकी रहेछ भनेर देखाएको छ । पुम्सेमै टार्जन सुब्बा र लामो समय सचिवालय अनुभव सम्हालेका हिरा थापा प्रशिक्षक छन् । थापा ११ औ दक्षिण एसियाली खेलकुदमा अब्जरभर तथा १२ औमा रेफ्रि थिए ।
यसै गरी क्योरोगीमा क्वाङ योङ डोल सहित संगीना वैद्य र दीपक विष्ट प्रशिक्षक छन् । १२ औ दक्षिण एसियाली खेलकुद भन्दा अहिले क्योरोगीमा पुरुष स्पर्धामा नेपाल बलियो रहेको छ । उत्कृष्ट भएर पनि अपेक्षाकृत परिणाम दिलाउन नसकेका वीर बहादुर महराका निम्ति यस पटक सबै ठिक हुने अपेक्षा गरिएको छ । भुपेन श्रेष्ठ,मनोज मल्ल,ज्ञानेन्द्र हमाल र गोविन्द आले आफ्ना ठाउँमा सही छन् । तौल समूह परिवर्तन गरिए पनि सक्षम कार्कीमा परिपक्वता छ । अरू पनि ठिक छन् । त्यसो त काजल श्रेष्ठको राष्ट्रिय टोलीमा पुनरागमन राम्रो हुन सक्छ । अनुभवी निमा गुरुङ लगायत अन्य खेलाडी पनि कमजोर नरहेको तेक्वान्दो प्रशिक्षकहरूको मत छ ।

Comment