पहिलो अन्तर्राष्ट्रिय महिला टेबल टेनिस खेलाडीलाई सम्झँदैन खेलकुद

रिता शाह मुखर जी, नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला खेलाडी । सन् १९६० मा चीनमा भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा उनी सहभागी भएकी थिइन् । ७६ वर्षको प्रौढ उमेर । त्यसो त यो उमेरमा जो कोही सम्मान गर्न लायक हुन्छन् । अझ रिता त ऐतिहासिक टेबल टेनिस खेलाडी । रिताका आठ दिदी बहिनी । यी सबै टेबल टेनिस खेल्ने । रिताको प्रेरणामा उनकी कान्छी बहिनी सिजरिन शाह पनि नेपाली टेबल टेनिसमा सक्रिय रहिन् । नेपाली टेबल टेनिसकी सर्व कालीन उत्कृष्ट टेबल टेनिस खेलाडी सिजरिनको सुरुवाती यात्रा घरबाटै सुरु भएको थियो ।


ललितपुर कुपुण्डोलको त्यही घर हो, जसले नेपाली टेबल टेनिसमा एउटा आयाम दिएको छ । नेपाली टेनिसमा एउटा युग थियो, रिता शाहको नाममा । पछि अर्को युग आयो, सिजरिन युगको । हो त्यही दिदी बहिनीको यो गौरवान्वित इतिहास नेपाली खेलकुदले अहिले महत्त्वहीन ठानेको छ । काठमाडौँमा आइतबार उद्घाटन हुने १३ औ दक्षिण एसियाली खेलकुदमा रिताको बारे न नेपाली खेलकुदका अन्य निकायले चासो दिए, नत टेबल टेनिस दुनियाँले । त्यसो त सिजरिनको बारे पनि नेपाली खेलकुद निकायले चासो दिएको छैन ।
रिता चार संस्करण राष्ट्रिय च्याम्पियन भएकी थिइन् । सबै भन्दा लामो समय र धेरै संस्करण राष्ट्रिय च्याम्पियनको रूपमा उनले कायम गरेको यो कीर्तिमान उनकै बहिनी सिजरिन शाहले भङ्ग गरेकी थिइन् ।
यस अघि उनको महत्त्वलाई सम्मान नभएको होइन । सन् २०१३ मा नेपाल ओलम्पिक कमिटी अन्तरगतको उमन एन्ड स्पोर्ट्स कमिसनले उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला खेलाडी भएको प्रमाणित गरेको छ । त्यसो त नेपालमा खेलकुदमा लाग्ने हरेक महिलाका लागि उत्तिकै सम्मानकी पात्र हुन् ,रिता । हो , अन्तर्राष्ट्रिय जगतमा नेपाली महिलाको पहिलो हस्ताक्षर रिताको हातले कोरिएको थियो , ४९ वर्ष अघि । यस ४९ वर्षमा नेपाली खेलकुदका सफलताका कथा पुरुष भन्दा महिलाको नाममा धेरै कोरिए । तर, त्यो सुरुवाती पाइला र पहिलो हस्ताक्षर खेलकुद निकायका लागि गौण बनेको छ ।
नेपाल पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेल यी एतेहासिक खेलाडीलाई बे वास्ता गर्नु दुखद भएको बताउछन् ।

Comment