हाप्कीडोको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा

प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्ट्स हाप्कीडो सेमिनार सन् २०२० को फेब्रुअरीमा २७ र २८ मा प्रदेश नं चार पोखरामा हुने भएको छ । नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार करिब ३० देशका हाप्कीडो प्रशिक्षक तथा खेलाडीले सेमिनारमा उपस्थित जनाउने छन् । ५ सयको हाराहारीमा सहभागिता रहने सो सेमिनारमा नेपाली हाप्कीडो प्रशिक्षक तथा खेलाडीहरू पनि सहभागी हुने छन् ।
पर्यटकीय नगरी पोखरामा हुने सो सेमिनारले नेपालको पर्यटन व्यवसायमा पनि सहयोग पुग्ने जनाइएको छ । नेपाल भ्रमण २०२० लाई लक्षित गरेर सो कार्यक्रम तय गरिएको हो ।
सेमिनारमा ग्रान्डमास्टर हिक्वान ली,गेरहार्ड अग्रीन्च,डेमिड मोमोट,सियन पर्सन,मेलेडीयन कुज्नीक,लीयोनीड ली र मास्टर काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा विभिन्न देशका ग्रान्डमास्टर जस्तै दक्षिण कोरिया,अमेरिका,रुस,क्रोएसिया,अस्ट्रिया र नेपालका परिचित हाप्कीडो मास्टरको उल्लेख्य सहभागिता रहने छ ।
यो सेमिनार नेपालमा पहिलो पटक हुन लागेको हो । यसै वर्ष पहिलो राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरेको हाप्कीडो विगत केही वर्ष यता नेपालमा सक्रिय सङ्घको रूपमा छवि बनाउन सफल भएको हो ।

Comment