एसियन एमच्योर चेस सुरु

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप औपचारिक रूपमा शनिवार सुरु भएको छ । १५ देशका कुल ८४ खेलाडी सहभागी प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । नेपाल बुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणसम्म सञ्चालन हुने छ ।
उद्घाटन समारोहमा फीडेका कार्यकारी सदस्य तथा फुडे अध्यक्षमा प्रमुख सल्लाहकार बेरिक बाल्गाइभ,युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, आयोजक संस्था नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकालाल श्रेष्ठ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ लगायतको उपस्थिति थियो ।


प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसै गरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौँले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौँ देखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।
पहिलो दिन दोस्रो बरीयताका क्षितिज भण्डारीले नेपालकै जगतलाल तुलाधरलाई हराए भने शीर्ष बरीयताका पुरुषोत्तम चौलागाइले जापानका ताकाहासी रोयनुसुके, तेस्रो बरीयताका सुरबिर लामाले मणीराज डागीँ तथा चौथो बरीयताका सजिन मर्हजनले पुजा भण्डारीलाई हराए ।

तस्बिर सौजन्यः मदनकृष्ण कायस्थ

Comment