श्रीलङ्कालाई उपाधि

पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलङ्काले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मङ्गलवार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो ।

पहिलो क्वार्टरमा ८–८ को बराबरी खेलेको श्रीलङ्काले दोस्रो क्वार्टरमा १६–४ को अग्रता बनाएको थियो । यस्तै तेस्रोमा ११–८ ले अग्रता बनाएको श्रीलङ्का अन्तिम क्वार्टरमा भने ७–८ ले पछि परेको थियो । श्रीलङ्कालाई प्रभावशाली जित दिलाउन प्लेयर अफ दी म्याच हिरोनी हिसानीले २५ अङ्कको योगदान गरिन् ।

च्याम्पियनसिपमा घरेलु टोली नेपाल भने चौथो स्थानमा सीमित भयो । तेस्रो स्थानका लागि मङ्गलवार नै भएको खेलमा मालदिभ्ससँग ३५–१८ ले पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित भएको हो । मालदिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अङ्क बटुलिन ।

च्याम्पियनसिपमा श्रीलङ्काकी नेथमी दिननायके सर्वोकृष्ट खेलाडी बनेकी छिन् । श्रीलङ्कालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेथमी प्लेयर अफ दी च्याम्पियनसिप चुनिएकी हुन् । श्रीलङ्काकै हिरोनी हिसानी सर्वाधिक स्कोर कर्ता बनिन् । उनले च्याम्पियनसिपमा एक सय ५८ अङ्क जोडेकी थिइन् । यस्तै मालदिभ्सकी मिस्का अफराह हसन बेस्ट डिफेन्डर घोषित भइन् ।

विजेतालाई नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, आयोजक नेपाल नेटबल सङ्घका अध्यक्ष मोहन बहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल नेटबल सङ्घको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्सले सहभागिता जनाएका थिए ।

Comment