उपाधि होड खुला

काठमाडौँमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ । आठौँ चरण अन्तर्गत शनिवार सुरवीर लामा र पुरुषोत्तम चौंलागाईं तथा भूपेन्द्र निरौला र सुमित पन्त बिच सम्पन्न पहिलो तथा दोस्रो दुवै बोर्डमा भएका खेल बराबरीमा टुङ्गिएसँगै प्रतियोगिताको उपाधि होड समेत खुला भएको हो ।
आठौँ चरणको समाप्तिमा पुरुषोत्तम तथा भूपेन्द्र समान ६ दशमलव ५ अङ्कका साथ संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन् ।
प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन सुरवीर लामा, फिडेमास्टर रुपेश जय सवाल, गजुरमुखी चेस क्लबका फिडेमास्टर मनिष हमाल तथा थापाथली चेस पार्कका सुमित पन्तको समान ६—६ अङ्क छ । आइतबार सम्पन्न हुने प्रतियोगिताको अन्तिम चरणको खेलमा सुरुवाती तीन बोर्डमा हुने नतिजाले मात्र उपाधिको छिनोफानो हुनेछ । नवौँ चरणको खेलमा पहिलो बोर्डमा पुरुषोत्तम मनिष हमाल, दोस्रो बोर्डमा भूपेन्द्र र रुपेश जयसवाल तथा तेस्रो बोर्डमा सुमित र सुरवीर आमनेसामने हुनेछन् ।
नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लास्टको प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार नवौँ (फाइनल) चरणका खेल हुनेछन् ।

Comment