नमुना बौद्ध मास्टर चेसमा आशिष र नवीनको अग्रता

काठमाडौँमा जारी दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगितामा थापाथली चेस पार्कका आशिष फुयाँल तथा क्यान्डीडेटमास्टर नवीन तण्डुकारले संयुक्त अग्रता बनाएका छन् । बुधवार सम्पन्न दोस्रो तथा तेस्रो चरणका खेलमा आशिषले क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा तथा गोल्डेनगेट कलेजका सुदीप तामाङलाई हराए । त्यसै गरी नवीनले दोस्रो चरणमा थापाथली चेस पार्कका जर्नादन श्रेष्ठ तथा तेस्रो चरणमा गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थमाथि जीत हात पारे । तीन चरणको समाप्तिमा आशिष् तथा नवीन दुवै जनाको समान तीन—तीन अङ्क भएको छ ।
प्रतियोगिताका शीर्ष खेलाडी फिडेमास्टर रुपेश जयसवाल, पहिलो संस्करणका विजेता सुरवीर लामा, वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौंलागाईं, डायनामीक चेस एकेडेमीका क्यान्डीडेटमास्टर भूपेन्द्र निरौला, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल तथा क्यान्डिडेटमास्टर कृष्ण थापा, फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेनगेट कलेजका निकेन कुसाथा, राजन पुरी तथा प्रेमकृष्ण महर्जन समान २ दशमलव ५ अङ्कका साथ संयुक्त दोस्रो स्थानमा रहेका छन् ।
दोस्रो चरणको खेलमा सुमन लामालाई हराएका रुपेश तेस्रो चरणमा कृष्ण थापासँग बराबरीमा रोकिए । त्यस्तै सुरवीरले दोस्रो चरणमा सुमन राईलाई हराए भने तेस्रोमा प्रेमकृष्णसँग बराबरी खेले । दोस्रो चरणमा पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत दर्ज गर्न सफल पुरुषोत्तमले तेस्रो चरणमा प्रकाशसँग बराबरीको नतिजा आत्मसाथ गरे । त्यस्तै भूपेन्द्र र सुजेन्द्र बिचको खेल पनि बराबरीमा सकियो ।
गोल्डेनगेट कलेजका सुदीप तामाङ, फिडेमास्टर रिजेन्द्र राजभण्डारी, क्यान्डिडेटमास्टरद्धय क्षितीज भण्डारी तथा भगवतीप्रसाद शर्मा, तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, थापाथली चेस पार्कका सुमित पन्त, पुर्णराज खड्का, राजन सुवेदी, जर्नादन श्रेष्ठ, शुसील चौधरी, पुण्यमान कर्माचार्य, सुमन लामा तथा सुमन राई समान दुई—दुई अङ्क रहेको छ । त्यस्तै क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा सजिन महर्जन, गणेशमान दुवाल, राजेन्द्र बज्राचार्य, सुसान आचार्य तथा नरेश स्थापीत समान १ दशमलब ५ अङ्कमा रहेका छन् ।
नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लास्टको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बिहीबार चौथो तथा पाँचौँ चरणका खेल सञ्चालन हुने कार्यक्रम संयोजक दयाराम काफ्लेले बताए ।

Comment