जीवनराम दोस्रो पटक अध्यक्षमा निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनः निर्वाचित भएका छन् । चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिको रोहबरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा निर्वाचन भएको हो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एसियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ओलम्पिक कमिटीको महासचिवमा निलेन्द्र राज श्रेष्ठ विजयी भए । श्रेष्ठले १५ तथा उनका प्रतिस्पर्धी पुरेन्द्र विक्रम लाखेले १२ मत पाए । सुनिल श्रेष्ठ, तेज गुरुङ,अशोक बज्राचार्य,चतुरा नन्द वैद्य र ज्योति राणा उपाध्यक्षमा निर्वाचित भए । यसै गरी,सचिवमा तुलसी थापा, दीपक हर्ष बज्राचार्य र रामजी बहादुर श्रेष्ठ निर्वाचित भए । सो पदमा राखेपका निवर्तमान सदस्य सचिव केशव विष्ट पराजित भए ।

Comment