मेयर कप फुलकन्ट्याक्ट कराँते शुक्रवार


काठमाडौँ । दोस्रो चन्द्रागिरि मेयर कप फुलकन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रवारदेखि सुरु हुने भएको छ । नेपाल शिन क्योकुशिन कराँते सङ्घ, गुर्जुधारा डोजोको आयोजनामा हुने प्रतियोगितामा पाँच पुरुष र दुई महिला गरी सात तौल समूहमा प्रतिस्पर्धा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा सातै प्रदेशका २२ जिल्लाका एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको दुई लाख बराबरको बिमा गरिएको गुर्जुधारा डोजोका अध्यक्ष विक्रम नकर्मीले जानकारी दिए । उनका अनुसार हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
दुई दिने प्रतियोगिता सञ्चालनका लागि १८ लाख ७३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका खेलहरू चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा सञ्चालन हुने छ ।

Comment