युनिभर्सिटी क्रिकेटका लागि पहल गर्नुस् ः सिलवाल


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले नेपाल विश्वविद्यालय खेलकुद सङ्घलाई युनिभर्सिटी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाका लागि पहल गर्न भनेका छन् ।
नेपाल विश्वविद्यालय खेलकुद सङ्घले उनकै सम्मानमा शनिवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।
‘तत्काललाई दक्षिण एसियाकै टिमलाई बोलाएर भए पनि सुरुआत गुर्नस । यसले राम्रै सन्देश जान्छ ।’ सदस्य–सचिव सिलवालले भने– ‘परिषद्ले पनि सक्दो सहयोग गर्छ । यसलाई कसरी अगाडि बढाउन सकिन्छ आउनुस् बसेर छलफल गरौँ । हामीले सुरु गरेको देखेर अरूले पनि सुरुआत गर्न सक्छन्’
कार्यक्रममा सङ्घका अध्यक्ष प्रदीपराज जोशीले सदस्य–सचिव सिलवाललाई मायाको चिनो प्रदान गरेका थिए भने महासचिव पूर्णसिंह बोहराले सङ्घ र अन्तर्राष्ट्रिय विश्वविद्यालय सङ्घका गतिविधि बारे प्रकाश पारेका थिए ।
एक छुट्टै कार्यक्रममा एन प्याब्सनले सदस्य–सचिव सिलवाललाई प्रशंसा पत्र प्रदान गरी कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।

Comment