गाईजात्रा फुटबल सुरु


१६औ दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिता बिहीबारबाट गोदावरीमा सुरु भएको छ । नमुना खेलकुद क्लबको आयोजनामा प्रत्येक वर्ष गाईजात्रा पर्वको अवसरमा आयोजना गर्ने प्रतियोगिताको उद्घाटन एक कार्यक्रम बिच नेकपा ३ नं. प्रदेश सदस्य एवम् समाजसेवी मधुसूदन पौडेलले गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना खेलकुद क्लबले नख्खु युथ क्लबलाई टाईब्रेकरमा ४-२ गोलले पराजित गरी तेस्रा चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो चरणको खेलहरूमा ठेचाे नवदिप क्लबले गोदावरी एफएम सी लाई १-० गोल, त्यसै गरी खाली बारी फुटबल क्लबले नव सोच क्लब गोदावरीलाई ४-० गोलले पराजित गरी क्वाटरफाइनलकाे समीकरण पूरा गरेका छन् । त्यसै गरी बिहीबार सम्पन्न अन्तिम खेलमा लाकुर फुटसल हरिसिद्धिले आरयुविसी सातदोबाटोलाई सडेनडेथमा १-० ले पराजित गरी अर्को चरणमा पुग्न सफल भएको छ । प्रतियोगिताको बाकी खेलहरू शुक्रवार सम्पन्न हुनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा गत वर्ष जस्तै यस पटक पनि पराजित भएका टोलीहरूबिच पेनाल्टी सुट आउट प्रतियोगिता गराउने र पेनाल्टी सुट आउट विजेतालाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Comment