विनोदको नयाँ यात्रा सुरु

कराँतेका ११ औ सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नयाँ यात्रा सुरु भएको छ । लामो समय खेलाडी भन्दा प्रशिक्षकको रूपमा व्यस्त शाक्य १३ औ साग खेल खेल्ने अभियानमा जुटको छन् । नेपाल कराँते महासङ्घले १३ औँ सागका लागि टिम कुमुते तर्फ पहिलो चरणको खेलाडी छनोट बिहीबार सम्पन्न गरेको छ । पहिलो चरणमा पुरुष तर्फ विनोद सहित १४ जना छन् । १० महिला खेलाडी छनोट भएका हुन् । पुरुष तर्फ लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, विनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लव श्रेष्ठ, शेखर श्रेष्ठ, सुशील पौड्याल र वीरबहादुर रनेनी रहेका छन् । यस्तै महिला तर्फ विभुषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाइबा, रोजिता ढुङ्गेल, विनीता श्रेष्ठ, पूजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी गराए ।
पुराना तथा साग पदकधारी खेलाडीहरू अमृता शाक्य, विनोद शाक्य, विनोद महर्जन र राम लिम्बुले टिममा पुनः पुनरागमन गरेका हुन् ।
कराँतेको टिम कुमुतेमा पुरुष तर्फ ७ र महिला तर्फ ५ खेलाडीहरूको सहभागिता रहने छ । पहिलो चरणमा पुरुष तर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्न बाट वञ्चित भए । यस्तै महिला तर्फ १० खेलाडी छनोट गर्नु पर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरे पश्चात् १० खेलाडी मात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्रि संयोजक कपालीले जानकारी गराए ।
नेपाल कराँते महासङ्घका महासचिव हरिशरण के.सी.को सभापतित्वमा भएको छनोट प्रतियोगिताको प्रमुख अतिथि राखिपका पूर्व कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक मीनकृष्ण महर्जनले कराँते खेलाडीहरूले आठौँ सागमा राखेको साखलाई १३ औँ सागमा पुनः कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

Comment