प्रचार प्रमुखमा दुलाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । २०७६ साल साउन १४ गतेको सदस्य–सचिव स्तरीय निर्णयानुसार दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।
राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधवार पत्र हस्तान्तरण गरे । प्रमुख थापाले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाई दिए । उनले कुनै बेला प्रचार प्रसार शाखालाई महत्त्वपूर्ण शाखाका रूपमा हेरिने गरेको बताउँदै अहिले विगतको तुलनामा प्रचार प्रसार शाखाको साख घटेको आफूले महसुस गरेको बताए । उनले प्रचार प्रसार शाखाको गुमेको साखलाई पुनः फर्काउन सफलता मिलोस् भनी शुभकामना दिए ।
यसअघिका प्रमुख सुधीरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचार प्रसार शाखामा प्रमुखको पद रिक्त थियो ।
नवनियुक्त प्रमुख दुलालसँग प्रचार प्रसारमै रहेर १६ वर्ष काम गरेको अनुभव छ । त्यसअघि उनले गुल्मी जिल्ला खेलकुद विकास समितिमा ३ वर्ष तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र मोरङ जिल्ला खेलकुद विकास समितिमा ५ वर्ष काम गरेको अनुभव छ । प्रमुखसँगै ५१ वर्षीय दुलालले सूचना अधिकारीको जिम्मेवारी पनि पाएका छन् ।
२०५३ साल असोज ४ गते राखेपमा स्थायी सेवामा प्रवेश गरेको प्रमुख दुलालले सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत, नायव सुब्बा वासुदेव निरौला लगायतको उपस्थिति थियो ।

Comment