केसी र मानन्धर सम्मानित


नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित सम्मान गरेको छ ।
एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित कार्यक्रम केसी र मानन्धरलाई सम्मान गरिएको हो । दुवैलाई समान १०–१० हजार नगद प्रदान गरियो । सोही अवसरमा हङकङमा भएको जुनियर एसियाली एथलेटिक्सका स्वर्ण विजेता अजितकुमार यादवलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
पाँच किलोमिटर दूरीको रोड रेसमा विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष खुलामा अजितकुमार यादव पहिलो, सन्तोषविक्रम विष्ट दोश्रो र खिमबहादुर खत्री तेश्रो भएका थिए । तीनै एपीएफका हुन् । सो स्पर्धाको महिलामा प्रहरीकी राजपुरा पछाईंले स्वर्ण, काठमाडौंकी सन्तोषी श्रेष्ठले रजत र एपीएफकी फुलमति राना कांस्य जितेका थिए । शीर्ष तीन स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरियो ।
जुनियर पुरुषमा सिग्माका प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भएका थिए । उक्त स्पर्धाको महिलामा प्राइम ग्लोबलकी जुनिल सुनुवार पहिलो, जेसिजकी श्रयस्का सिल्पकार दोश्रो तथा पञ्च कन्याकी सोनु घतामी तेश्रो भए । पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार तथा तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे ।
उनीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment