रोशन र आइशालाई स्वर्ण

नेपाल आर्मीकाद्वय रोशन नगरकोटी र आइशा तामाङले छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको व्यक्तिगत स्पर्धाको रिकर्भमा शनिबार स्वर्ण जितेका छन् । रोशन पुरुष तथा आइशा महिलामा पहिलो भए ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा रोशनले कास्कीका अशिम शेरचनलाई ६–० ले पराजित गरे । महिलाको उपाधि भिडन्तमा आइशाले आर्मीकै मित्र राईलाई ६–२ ले हराइन् ।
रिकर्भ पुरुष टिममा आर्मीले नेपाल मगर समाजलाई ६–२ ले पाखा लगाउदै स्वर्ण जित्यो । पुरुष व्यक्तिगत कम्पाउन्डमा बेस्ट आर्चरीका प्रसदा आचार्यले राजधानी दैनिकका सनातन मल्लमाथि १३९–१३१ को जित प्राप्त गर्दै पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्ण आर्चरी क्लबका राजकुमार छन्त्यालले सुमन गुरुङलाई फाइनलमा ६–० ले पन्छ्याउदै पहिलो स्थान हात पारे । सोही स्पर्धाको महिलामा अन्नपूर्णकी अनुषा गुरुङले बेस्टकी आश्ना लामालाई ७–३ ले निराश पार्दै शीर्ष स्थान कब्जा गरिन् ।
पुरुष स्ट्यान्डर्ड टिम फाइनलमा अन्नपूर्णले आर्मीलाई ६–४ ले हराउदै पहिलो भयो । स्ट्यान्डर्ड मिक्समा अन्नपूर्णका राजकुमार छन्त्याल र अनुषा गुरुङको जोडीले बेस्टका प्राण्जल राई र आश्ना लामाको जोडीलाई ६–४ ले पराजित गर्दै पहिलो भए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ४७ पुरुष र १९ महिला गरी ६६ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment