संगीना र प्रदीप सम्मानित

?

ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे टाइगरलाई पनि सम्मान गरिएको थियो । तीनै जना खेलाडी नुवाकोटका हुन् ।
संगीना सन् २००४ मा ग्रिसको एथेन्समा आयोजना भएको ओलम्पिक खेलकुदमा छनोट चरण पूरा गर्दै सहभागी भएकी थिइन् । उनी छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् । यस्तै सन् १९९६ मा अस्ट्रेलियाको मेलवर्नमा आयोजना भएको एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । एसियाली क्षेत्रमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
यस्तै प्रदीप थापाले सन् २०१८ अक्टोबरमा रुसको सेन्ट पिटर्सवर्गमा आयोजना भएको युरोपियन अल स्टार स्पोर्ट्स हाप्किडो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । यस्तै नुवाकोटे टाइगरले गत मेमा काठमाडौंमा आयोजना भएको एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपको उपाधि जितेका थिए ।
शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफ्नो आमाबुवाको स्मृतिमा स्थापना गरेको संस्था हो ।

Comment