आदेश र मुनालाई स्वर्ण


दोस्रो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा आदेश बिष्ट र मुना तामाङले स्वर्ण जितेका छन् ।कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला ४९ केजी मुनि तौलसमूहमा स्वर्ण जितेका हुन् । आदेशले फाइनलमा सन्दीप गिरीलाई हराउँदै स्वर्ण आफ्ना बनाउँदा संस्कार अधिकारी र कृष्ण बुढाथोकी संयुक्त रूपमा तेस्रो भए ।
मुनाले भने फाइनलमा जोत्सना केसीलाई स्तब्ध बनाउँदै स्वर्ण आफ्नो बनाइन् । सोही तौलसमूहमा काभ्या तिमिल्सिना र अमिसा कार्की संयुक्त रूपमा तेस्रो भए । पुरुषकै ३१ केजीमा हर्ष थापा पहिलो हुँदा फाइनलमा गणेश कोइरालालाई हराए । सोही तौलमा वांगेल तामाङ र नागेस ठाकुर तेस्रो भए ।
महिलाकै ४३ केजीमा समर्पण राई पहिलो हुँदा फाइनलमा हिमानी मगरलाई स्तब्ध बनाइन् । सोही तौलमा सुस्मा राई र अर्चना साह तेस्रो भए । महिलाकै ४४ केजीमा प्रगति कुँइकेलले स्वर्ण जित्दा नममी आचार्यलाई स्तब्ध बनाइन् । सोही तौलमा स्मारिका सिवाकोटी र रेमिक्सा रेग्मी तेस्रो भए । महिलाकै ४५ केजीमुनि सलिना केसीले स्वर्ण जित्दा फाइनलमा स्वीटी मन्डललाई पराजित गरिन् ।
अनिषा बखती र उदिता खड्का तेस्रो भए । एकदिने प्रतियोगितामा कुल १ सय १० खेलाडीले विविन्न तौलसमूहमा प्रतिस्पर्धा गरेको आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेतालाई नेपाल तेक्वान्दो संघ प्रदेश–३ अध्यक्ष केशव पुरी, ओलम्पियनद्वय नारायण गुरुङ र दीपक बिष्टलगायतले पुरस्कृत गरेका थिए ।

Comment