एथलेटिक्स सुरु, चन्द्रकलाको कीर्तिमान

सरस्वती र आशिष तेज ब्यक्तित्व

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुण्डीमा एथ्लेटिक्स सुरु भएको छ । १ सय मिटर दौडमा महिलातर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन् । उनले १२.१९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरीले कास्य पदक जित्न सफल भइन् । यसैगरी एक सय मिटर पुरुष दौडमा एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले ११ सेकण्डमा दूरी पुरा गरे । कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११ दशमलब १० सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए ।

१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पँछाईसँग समय भने समान रहेको थियो । विश्वरुपाको टाइमिङ ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो ।

यस्तै प्रदेश तीन की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितिन् ।

१० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन् । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते ।

सटपुट तर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।

त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमानी स्वर्ण पदक जितिन् । उनले १२.०४ मिटरका साथ उनले स्वर्ण पदक जित्दा नयाँ रकेर्ड बनाइन् । उनले इटहरीमा भएको राखेप च्याम्पियनसिप बनाएको ११ मिटर ५६ सेन्टिमिटरको कीर्तिमानमा सुधार गरेकी हुन् ।

यसैगरी प्रदेश पाँचकी संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन् ।

Comment