जीबीएचएस कराते सोमबारदेखि


गुहेश्वरी आवसीय माध्यमिक विद्यालयको आयोजनामा जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानबाट करिब ५ सय खेलाडीको सहभागिता रहने गुहेश्वरीका विद्यालय निर्देशक डीआर लामिछानेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा नेपालबाट ४ सय तथा विदेशबाट १ सय खेलाडी रहने बताइएको छ ।
पुरुषमा २४ र महिलामा १६ गरी ४० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सानुबाबु गिरीले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ६६ हजार खर्च लाग्ने छ । दुईदिने प्रतियोगिताका खेलहरु बाँसवारीस्थित आयोजककै हातामा हुनेछ ।

Comment