अन्तरक्रिया सम्पन्न


राष्ट्रिय अपाङ्ग खेलकुद सञ्जाल नेपालको आयोजना, नेपाल पारा ओलम्पिक कमिटीको संयोजन तथा पारा स्पोर्ट्स, डेन्मार्कको सहयोगमा राष्ट्रिय खेलकुद विकास ऐन २०७५ विधेयक उपर अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
राष्ट्रिय सभा विधायन समितिका सभापति पर्शुराम नेगी गुरुङलगायत अन्य राष्ट्रिय सभाका सदस्यको उपस्थितिमा भएको अन्तरक्रियामा ऐनमा संशोधन हुनु पर्ने विषयमा सहभागीले सुझाव दिएका थिए ।
नेपालका ख्याति प्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय पूर्व खेलाडीहरु एवं पूर्व पारा खेलाडीहरु मध्येबाट कम्तीमा एक जना महिलासहित ४ जना सदस्य, पारा ओलम्पिक, स्पेसल ओलम्पिक तथा बहिरा ओलम्पिक खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिलासहित ३ जना सदस्य, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको वडा पत्र, उद्देश्य तथा प्रचलित राष्ट्रिय कानून अनुरुप खेलकुद सम्बन्धी कार्य गर्न नेपालमा एक ओलम्पिक कमिटी, एक पारा ओलम्पिक कमिटी, एक विशेष ओलम्पिक कमिटी, एक बहिरा ओलम्पिक कमिटी रहनु पर्नेलगायतका सुझाव दिइएको थियो । त्यस्ता ओलम्पिक कमिटी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुनु पर्ने पनि भनिएको छ ।
कार्यक्रममा पारा स्पोर्ट्स, डेन्मार्ककी नेपाल प्रतिनिधी रेणु लोहनी, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दिपक कोइराला र महासचिव कुमार पौडेलले लगायतले आफ्नो धारणा राखे । नेपाल पारा ओलम्पिक कमिटीकी पूर्व महासचिव गोमा देवी पौडेलले ऐनमा संसोधनका बुधागत विषयलाई प्रश्तुत गरेकी थिइन् ।

Comment