आर्मी वीर गणेशमान स्मृति बक्सिङमा महिलातर्फ च्याम्पियन


वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ दबदबा कायम गर्दै उपाधि जितेको हो । आर्मीलाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष माननीय प्रकाशमान सिंह, राखेपका सदस्य सचिव केशवकुमार विष्ट, राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले ट्रफी वितरण गरे ।
शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०–६४ केजी तौल समूहमा पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् । ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकै सुलभ थापामगरलाई हराइन् । ५१–५४ केजीमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिस क्लबकी निशा तामाङलाई पराजित गरिन् ।
एपीएफका लागि संगीता सुनारले र माला राईले स्वर्ण हात पारे । संगीताले ५७–६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठलाई हराइन् । मालाले ४८–५१ केजीमा आर्मीकै विमला श्रेष्ठलाई पराजित गरिन् । ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले आफ्नो विभागका लागि एकमात्र स्वर्ण जित्ने क्रममा प्रदेश ५ की सुशिला थापालाई हराइन् ।
यसैगरी पुरुषको सेमिफाइनल चरणका खेल पनि शुक्रबार सम्पन्न भए । ४९ केजीमा एपीएफक प्रदीप महर्जनले प्रदेश ७ का भानु विष्ट तथा आर्मीका सुशील थापाले प्रदेश ६ का मोहन गुरुङलाई हराए । आर्मीकै प्रेम चौधरीले ५२ केजी तौल समूहमा प्रदेश १ का सुलभ राज तुलाधरलाई हराए । एपीएफक विक्रम परियारले पुलिसका चन्द्रबहादुर थापालाई हराउँदै फाइनलमा स्थान बनाए ।
एपीएफका पुरन राई प्रदेश २ का गणेश थापालाई हराउँदै ५६ केजीको उपाधि भिडन्तमा पुगे । प्रदेश ७ का महेन्द्र चन्दलाई हराएका आर्मीका विमल रोकाले पुरनसँग फाइनलमा खेल्नेछन् । ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घले प्रदेश ५ का गणेश थापामगरबाट वाकओभर पाउँदै फाइनल पुगे । पुलिसका दिनेश श्रेष्ठले एपीएफका प्रकाश लिम्बूलाई हराउँदै एकबहादुरसँग उपाधि भिडन्त पक्का गरे ।
पुलिसका भुपेन्द्र थापा र एपीएफक सोनाम सार्कीले ६४ केजी तौल समूहको उपाधिका लागि खेल्नेछन् । भुपेन्द्रले आर्मीका सुरेश नेपालीलाई हराउँदा सोनामले प्रदेश ६ का इन्द्र सुनारलाई पाखा लगाए । ६९ केजीमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश १ का राजेश गुरुङलाई नकआउट गरे । एपीएफका विकास लामाले प्रदेश ३ का मनिष डंगोललाई हराउँदै उपाधि भिडन्त पक्का गरे ।
७५ केजी तौल समूहमा एपीएफका सुमन कार्की र आर्मीका दिपक श्रेष्ठ फाइनल पुगेका छन् । सुमनले प्रदेश २ क दिवस गुरुङलाई हराउँदा दिपकले प्रदेश ३ का दिवेश भूमिलाललाई नकआउट गरेका थिए । आर्मीका रवी सुनारले प्रदेश ७ का हिक्मत बहादुर शाहीलाई हराउँदै ८१ केजीको फाइनलमा स्थान बनाए । उनलाई प्रदेश ५ का केशर खत्रीले चुनौती दिनेछन् । केशरले प्रदेश ४ का सुसन पुनलाई नकआउट गरेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment