सातौं मि. हिमालय शारीरिक सुगठन प्रतियोगिता बैशाखमा

नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ बैशाख २० र २१ मा काठमाण्डौमा हुने भएको छ ।

संघद्वारा असार ५ र ६ गते काठमाण्डौमा आयोजना गरिने १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगताको मि. हिमालय तर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ के.जी. माथीको तौल गरि ६ वजन समूहमा प्रतिस्पर्धा गराईने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले जानकारी गराएको हो । एउटा क्लब तथा संस्थाले प्रत्येक समूहमा बढिमा दुई खेलाडीलाई प्रतिस्पर्धा गराउन पाउने छ । प्रत्येक वजन समूहका खेलाडीहरुका विच २० गते हुने प्रिजजिङ्ग चरणबाट २१ गते हुने अन्तिम चरणका लागि प्रत्येक वजन समूहका ५ खेलाडी छनोट गरिने छ । प्रत्येक वजन समूहका शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै प्रत्येक वजन समूहका प्रथम स्थान हात पार्ने खेलाडीहरुले मिष्टर हिमालय उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । ओभरअल प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले “मिष्टर हिमालय” उपाधीका साथै नगद २ लाख ५० हजार सहित ट्रफी तथा ब्यानेटले सुसज्जित हुँदै उपाधी हात पार्ने छ ।

प्रत्येक दुई बर्षमा आयोजना हुने मि. हिमालय प्रतियोगिताकै दौरान शारीरिक सुगठन विधा अन्तरगत हुने दोश्रो पुरुष फिट्नेश फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ पनि आयोजना हुने छ । उक्त स्पर्धामा पुरुष तर्फ १७० सेमि र त्यो भन्दा माथि गरि दुई विधा तथा महिला एथलेटिक्स फिजिक्सका खेलाडीहरुलाई प्रिजजिङ्ग चरणमा प्रतिस्पर्धा गराई प्रत्येक समूहबाट ५ खेलाडी दोश्रो दिन हुने फाईनल चरणका लागि छनोट गरिने छ । फाईनल चरणमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

काठमाण्डौमा संघले आयोजना गर्ने १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा यस प्रतियोगिताबाट छानिएका खेलाडीहरुका साथै ३ बर्ष भित्र एशियन तथा विश्व शारीरिक सुगठन प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई उनीहरुको क्षमताका आधार मानि संघको सिफरिसमा स्वतः प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो । मि. हिमालय प्रतियोगिताको अनुमानित बजेट करिव २० लाख रहेको छ ।

Comment