रामेछाप सिभिल च्याम्पियनसिप मंगलबार देखि


रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको चौथो संस्करण यही मंगलबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
मंगलबार देखी शनिबारसम्म रामेछाप सदरमुकाम मन्थलीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । ‘प्रतियोगिताको अन्तिम तयारी भइसकेको छ’, रामेछाप जिल्ला खेलकुद विकास समितीका अध्यक्ष पुरुशोत्तम कडेरियाले भने, ‘प्रतियोगितामा सहभागी हुने टोली देखी प्रतियोगिता सञ्चालन गर्ने प्राबिधिक र आवश्यक खेल मैदान सबैको तयारी भइसकेको छ ।’
प्रतियोगितामा सात प्रदेश र अन्य पाँच टोली गरी १२ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश बाहेक शान्तिदिप युवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमुनादीप युवा क्लब र प्याराडाइज युथ क्लबको सहभागीता रहने छ ।
जिल्लाकै सर्बाधिक पुरस्कार राषिको प्रतियोगिताको पुरस्कारमै सात लाख २५ हजार खर्च हुने छ । जसमध्ये प्रतियोगिताको प्रथम हुने टोलीले तीन लाख, दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्बाेत्कृष्ट घोषित हुने एक खेलाडीले १५ हजार र बिधागततर्फ उत्कृष्ट ठहरीने सर्भर, स्पाइकर, ब्लकर, रक्षक, सेटर र प्रशिक्षकले पनि जनही १० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा बिभागीय टोलीले सहभागीता जनाउन पाउने छैन, बिभागीय टोलीका खेलाडीले अन्य टोलीबाट भने खेल्न पाउने छन् । यद्यपि एउटा टोलीमा बिभागीय टोलीबाट तीन जना भन्दा बढि खेलाडीले खेल्न पाउने छैन ।
सहभागी कुनै पनि टोलीले बिदेशी वा बिभागीय टोलीका खेलाडी अनुबन्ध गर्दा चौथो आरबीबी–एनभिए राष्ट्रिय पुरुष भलिवल च्याम्पियनसिप खेलेकोमध्ये चार खेलाडीलाई मात्रै सहभागी गराउन पाउने छन् । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितीले सहभागी टोलीका खेलाडीहरूका लागि यातायातका साथै दैनिक भत्ताको समेत ब्यवस्था गरेको छ ।

Comment