रितिज र दीक्षा जुनियर च्याम्पियन


ललितपुरका रितिज जोशी र नेपाल आर्मीकी दीक्षा तामाङ प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा मंगलबार राष्ट्रिय जुनियर च्याम्पियन बनेका छन् । यु–१८ उमेरसमूहको प्रतिस्पर्धामा रितिज ब्वाइज र दीक्षा गल्र्समा पहिलो भएका हुन् ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको ब्वाइज सिंगल्स फाइनलमा रितिजले एपीएफका सन्योग कपालीलाई ११–५, १३–११ र ११–५ को सोझो सेटमा पराजित गरे । सिनियर स्तरको सिंगल्समा सेमिफाइनलसम्म पुगेकी दीक्षाले गल्र्स सिंगल्स उपाधि भिडन्तमा आफ्नै क्लबकी दीक्षा दाहाललाई ९–११, ११–९, ११–८ र १२–१० ले हराइन् ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल्समा एपीएफका विशाल गोले पहिलो भए । उनले मोरङका बोधित डिसीलाई ११–७, ११–७, ९–११ र ११–९ ले पाखा लगाए । सोही स्पर्धाको गल्र्स फाइनलमा भक्तपुरकी अन्जु सुवालले काठमाडौंकी समृति पन्तमाथि ११–८, ११–७ र ११–९ को सीधा सेटमा जित निकाल्दै स्वर्ण जितिन् ।
विजेतालाई प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment