एनएनआईपिए अवार्डलाई आदर्श समाजको साथ

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वितरण गर्ने एनएनआईपिए स्पोर्ट्स अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ । केन्द्रले अवार्डका लागि खेलाडी संघलाई वर्षको १ लाखका दरले तीन वर्षसम्म रकम उपलब्ध गराउने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा खेलाडी संघका अध्यक्ष र केन्द्रकी अध्यक्ष सपना लामाले बुधबार हस्ताक्षर गरे । सो रकम मध्ये २५ हजार रुपैयाँ एनएनआईपिए पत्रकारिता पुरस्कारका लागि छुट्याइने र बाँकी व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ । खेलाडी संघले एनएनआईपिए पत्रकारिता पुरस्कारमा १० हजार रुपैयाँ बृद्धि गर्न लागेको हो । गत वर्षदेखि सुरु गरिएको यो अवार्डबाट श्याम चित्रकार १५ हजार नगदसहित सम्मानित भएका थिए ।
सम्झौतापछि केन्द्रकी अध्यक्ष लामाले आफू पनि खेल क्षेत्रमै संलग्न भएका कारण अवार्डसँग जोडिन पुगेको बताउदै अवार्डसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । सपना कराते तथा फुटबल खेलाडी हुन् ।
खेलाडी संघका अध्यक्ष श्रेष्ठले अवार्डमा सहयोगी संस्थाहरु अगाडि आउनु खेलाडीका लागि गौरवको विषय भएको बताए । यसअघि जनता बैंकले अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १–१ लाख रुपैयाँ प्रदान गर्न खेलाडी संघसंग सम्झौता गरेको थियो ।
अवार्डको १३ औं संस्करण पाटन दरबार स्क्वायर हातामा रहेको ललितपुर संग्रहालयमा पुस १३ गते हुँदैछ । अवार्डका अवसरमा राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक–एक पुरुष÷महिला खेलाडीलाई पनि उत्कृष्ट खेलाडीको अवार्डसहित जनही १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । त्यस्तै एक पाका खेलाडी गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सम्मानित हुनेछन् ।

Comment