ललीतपुर इपिएल च्याम्पियन

ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिग(इपिएल) टि२० क्रिकेट प्रतियोगिता २०१८ को च्याम्पियन बनेको छ । भैरहवा ग्लाडियटर्शलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको ललितपुर इपिएल च्याम्पियन बनेको हो । भैरहवा भने लगातार दोस्रो पटक फाइनलमा चुकेको छ । अघिल्लो संस्करणमा पनि भैरहवा फाइनलमा विराटनगर वारियर्शसँग पराजित भएको थियो । जितसँगै ललितपुरले २५ लाख रुपैया पुरस्कार पायो भने भैरहवाले १० लाख रुपैया पायो ।
ललितपुरले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४१ रनमा सिमित भयो । सो टोलीका प्रदीप ऐरीले सर्वाधीक ३४ रन जोडे । यस्तै रविइन्दरसिंहले २९ तथा रायन टेन ड्यासचेटले १४ रन जोडे ।
ललितनारायण राजवंशीले पाँचौ ओभरको पहिलो बलमा रायन टेन ड्यासच्याटलाई १४ रनमा गौरव तमोरको हातबाट क्याच गराउनुअघि पहिलो विकेटका लागि उनले प्रदीप ऐरीसँग ३३ रनको साझेदारी गरेका थिए । १० बल खेलेका उनले एक चौका प्रहार गरे । ललितले आफ्नो चार ओभरमा १७ रनमात्रै खर्चेर ३ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमात्रै बनाउन सक्यो । ललीतपुरका जयकिशन कोल्सावालाले ५७ रनको अर्धशतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ३ छक्का र ३ चौका प्रहार गरे ।
यस्तै सन्दीप जोराले २४, गौरव तमोरले २३, कुशल भुर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्लले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले तीन तथा मोहम्मद नाभिद र रोयन टेन ड्यासच्याटले २(२ विकेट लिए ।

Comment