आत्मरक्षाका लागि जागरुप बनाउने उद्धेश्य बोकेको उपाध्यक्ष कप

रामेछापको दोरम्बा गाउँपालिकामा पहिलो पटक तीन नम्बर प्रदेश स्तरीय गाउपालिका उपाध्यक्ष कप कराते प्रतियोगिता हुने भएको छ । मंसिर २९ देखि पुस १ गतेसम्म सोे प्रतियोगतीता हुने भएको हो । दोरम्बा गाउँपालिका कार्यालय रहेको कण्ठेश्वर माविमा आयोजना हुने खेल प्रतियोगतीमा तीन नम्बर प्रदेशका १३ जिल्लाकै अफिसियल कराते खेलका खेलाडीहरु सहभागी हुन पाउने छन् ।
दोरम्बा गाउँपालिकाको आयोजनामा र आईडब्लुएफएन कराते डो संघ जिल्ला डोजो रामेछापको सह–आयोजनामा कार्यक्रम हुन लागेको गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले जानकारी दिइन् । गाउँपालिकाभित्र कराते खेलमा भविष्यमा राष्ट्रिय अन्तर्रा्ष्ट्रियस्तरसम्म पुग्ने सम्भावना भएको खेलाडीहरु भएकाले खेलाडीहरुको मनोबल उच्च बनाई खेल प्रतिभाको विकास गर्नका लागि खेल प्रतियोगतीता आयोजना गरिएको उनले बताइन् ।
खेलकुद पृष्ठभुमी रहेकी उपाध्यक्ष घिसिङ भन्छन्,‘दोरम्बा गाउँपालिकालाई खेलकुद मार्फत नमूना गाउपालिकाको रुपमा पहिचान गराउने लक्ष्य लिएका छौ ।’ स्थानीय निकाय गठन पश्चात धेरै ठाउमा खेलकुद कार्यक्रमहरु आयोजना गरेको दोरम्बा गाउपालिकाले महिलाहरुको आत्मरक्षाको निम्ति मार्सल आर्टको महत्व आवश्यक छ, भन्ने सन्देश दिनका उपाध्यक्ष कप कराते आयोजना गर्न लागेकोे बताइन् ।
कार्यक्रम संयोजक ज्ञानबहादुर थापामगरले कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले खेलाडी, प्रशिक्षक र रेफ्रीको खाने वस्नेको व्यवस्था आयोजकले गरेको बताउदै कार्यक्रमको लागि करिब ८ लाख खर्च हुने जानकारी दिए । । थापाका अनुसार प्रतिगोतीमा महिला ११५ र पुरुष १९० गरि जम्मा ३०५ जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा विश्व कराते महासंघको नियमानुसार संचालन गरिने छ ।
कार्यक्रममा सांस्कृति कार्यक्रम पनि समावेश गरिएको छ । विजयी खेलाडीलाई मेडल, ट्रफी र प्रमाण पत्र वितरण साथै खेलकुद क्षेत्रमा योगदान गर्नहुने व्यक्तिहरूको सम्मान कार्यक्रम रहेको उपाध्यक्ष घिसिङले जानकारी दिइन् ।

Comment