दोहोरो सत्ता खेलकुदमा चल्दैन ः उपाध्यक्ष तिम्सिना

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेकलुदमा दोहोरो सत्ता नचल्ने बताएका छन् । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार राखेपका नवनियुक्त पदाधिकारीको स्वागतमा आयोजित कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले एकै प्रकृतिका खेलमा रहेका दोहोरो संघलाई लक्षित गरी सो कुरा बताएका हुन् ।
‘दोहोरो संघका कारण खेलकुदमा विवाद छन् । यसले गर्दा खेलाडी, प्रशिक्षक र खेल मारमा परेका छन् । अब यो अवस्थाको अन्त्य गर्न अत्यन्त जरुरी भएको छ ।’ युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित विवाद समस्या समाधान सहजीकरण समितिका संयोजक समेत रहेका उपाध्यक्ष तिम्सिनाले भने ।
राखेपका सदस्य राजेशकुमार गुरुङले खेलकुद र खेलाडीका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए ।
राखेपकी सदस्य इन्दिरा निरौलाले आफू खेलकुदकै पृष्ठभूमिबाट आएकाले सधै खेलकुद र खेलाडीलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने बताइन् ।
कार्यक्रममा नवनियुक्त पदाधिकारीत्रय तिम्सिना, गुरुङ र निरौलालाई विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीले खादा लगाएर स्वागत गर्नुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।

Comment