गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता

 ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ ।
आयोजक ललितपुर जिल्ला किक बक्सिङले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो ।
प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ, फुल कन्ट्याक्ट कराते, मुआथाई र तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनेछ । सहभागी खेल संघबाट हरेक तौल समूहमा एक खेलाडी अनिवार्य रुपमा आउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५० केजी, ५५ केजी, ६० केजी माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहमा गरी करिव २ सय खेलाडीको सहभागिता रहने संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।
प्रतियोगिताको विभिन्न तौल समूहको विजेताले समान २० हजार पाउनेछ । दोस्रो हुनेले १० हजार तथा तेस्रो स्थान हात पार्नेले समान ५–५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १५ हजार पाउने आयोजकले जनाएको छ ।
यस्तै सबैभन्दा बढी स्वर्णपदक हात पार्ने टिमलाई टिम च्याम्पियन स्वरुप ५० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक मीन कृष्ण महर्जनले जानकारी गराए । टिममा दोस्रो हुनेले २५ हजार तथा तेस्रोले १२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता गोदावारी नगरपालिकास्थित चापागाउ बसपार्क प्याङगाँउ चौरमा हुनेछ । तीन दिने प्रतियोगिताको लागि ३० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ

Comment