प्रिन्स दुवई सिरिजको फाइनलमा

नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चेटियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका हुन् । प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकाल्यो । यससँगै प्रिन्स नेपालबाट उमेर समूहको कुनैपनि  प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन एक्लै दुवई पुगेका प्रिन्सलाई दुवईंमा प्रशिक्षकको रुपमा उनका मामा कमलेश निरौला रहेका छन् । प्रिन्सले फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनससँग आइतबार प्रतिस्पर्धा गर्ने  छन् । क्रिस्टियनले भारतका युनिथ कृष्णलाई २१–१९ र २१–१७ ले पराजित गर्दै प्रिन्ससँगको भेट पक्का गरेका हुन् ।

सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

Comment